मुस्कानको जीवनमा फर्किएका मुस्कानहरु

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, १५ : ५६
मुस्कानको जीवनमा फर्किएका मुस्कानहरु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  एसिडपीडत बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेर आफ्नो जन्मदिन मनाए । मन्त्री भट्टराईले ५० हजार नगद प्रदान गर्दै डाक्टर बन्ने लक्ष्यमा निरन्तर लाग्न साहस, आत्मबल बढाउन सुझाव दिँदै उत्तरोत्तर प्रगतिको शुभकामना दिए । 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टराईले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । उनले भने, ‘डाक्टर बन्ने मुस्कानको अभिलासामा यो सानो सहयोग पनि ठूलो हुन सक्छ, मेरो शुभकामना ।’

मन्त्री भट्टराईले यसो भनिरहँदा मुस्कानमा खुसीको बहार छाएको थियो । पछिल्लो समय सबैको साथ, सहयोग र माया पाएकी मुस्कानमा पक्कै मुस्कान फर्किएको अनुभूति भएको छ । त्यसो त उनको उपचारको क्रममा सांसददेखि मन्त्रीसम्म, कलाकारदेखि सर्वसाधारणसम्मले सहयोग गरेका थिए । 

केही दिनअघिमात्र मुस्कानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट गरेका थिए । बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने बचन दिएका थिए । उनले प्रधानमन्त्री ओलीसँग डाक्टर बनेर दीनदुःखी, गरिब निमुखाहरुको सेवामा खटिने बताएकी थिइन् ।

कीर्तिपुर अस्पताल उपचार गराईरहेका बेला मस्कानले प्रधानमन्त्रीलाई एक पत्र लेख्दै आफुमाथि एसिड प्रहार गर्नेलाई ठूलो सजायको माग गरेकी थिइन् । पत्रमा उनले आफु प्रधानमन्त्रीको ठाउँमा भएको भए एसिड आक्रमण गर्नेलाई फाँसीको सजाय दिने बताएकी थिइन् । उनले केही वर्ष पहिले रौतहटकी सीमा बस्नेत र संगीता खड्कामाथि एसिड आक्रमण भएको बेला नै कडा कानुन बनाइदिएको भए आफू अहिले यो अवस्थामा नै आउने थिइन होला समेत भनेकी थिइन् । 

प्रधानमन्त्रीले मुस्कानलाई भेट्दा एसिड आक्रमणकारीको सजायमा आफू गम्भीर भएर सोचिरहेको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री योगेश भट्टराईको साथमात्र होइन, देशविदेशमा बसेका नेपालीको साथ र माया पाइरहेको मुस्कान बताउँछिन् । उनले आफ्नो लक्ष्य डाक्टर बन्ने सपनालाई साकार बनाउने बताएकी छन् । 

यतिबेला मुस्कानको हराएको मुस्कानहरु पटकपटक फर्किरहेका छन् । केही समयअघि मात्र मुस्कान खातुनलाई जगदम्बा मोटर्सले स्कुटर प्रदान गरेको छ । अन्य साथ र सहयोग मुस्कानलाई आइरहेको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । 

घटना के थियो ?

१५ वर्ष टेकेकी मुस्कान पढाइलेखाइमा रुची राख्थिन् । बुवा–आमाको दुःख बुझेकी जागिर गरेर उनीहरुलाई खुसी राख्न चाहन्थिन्। उनी सधैँ आफ्ना बुवालाई भन्ने गर्थिन्, ‘बुवा म धेरै पढेर जागिर गरेर तपाईँहरुलाई राम्रोसँग पाल्छु।’

मुस्लिम परिवारमा छोरीलाई नपढाएर सानै उमेरमा बिहे गरिदिने चलन छ। उही मुस्लिम समुदायमा हुर्किरहेकी उनका लागि पनि बिहेको कुरा नआएको होइन। तर उनको परिवारले छोरीलाई पढाएर समाजमा परिर्वतन ल्याउन खोजे। तर त उनी छोरी भए पनि उनलाई धेरै पढाउने सपना बोकेका थिए, उनका बुवा–आमाले।

तर गत वर्षको भदौ २० गते बिहान स्कुल जाँदा उनले देखेका  ‘सपना’ माथि धक्का लाग्यो। एकाएक अप्रत्यासित घटना घट्यो। दिनको सुरुवातसँगै स्कुल जाँदै गरेकी उनीमाथि ‘एसिड’ प्रहार भयो। अनुहारमा छ्यापिएको ‘एसिड’ सँगै उनले देखेका सपना ‘छताछुल्ल’ भए। ९ कक्षामा पढ्दै गरेकी मुस्कान भुईँमा बज्जारिइन्। छट्पटाउँदै चिच्याउन थालिन्। उनीसँगै स्कुल जान बाटोमा हिँडिरहेका साथीले मुस्कानलाई अस्पताल पुर्‍याए।

वीरगञ्जको नारायणी अस्पतालमा प्राथमिक उपचारपछि मुस्कानलाई काठमाडौँ रिफर गरियो। काठमाडौँको कीर्तिपुरस्थित काठमाडौँ मोडेल अस्पताल पुगेपछि मात्र मुस्कानलाई थाहा भयो, आफू माथि एसिड आक्रमण भएको रहेछ। किताबका पानामा पढेको कुरा आफै माथि पर्दा उनलाई पत्याउनै गाह्रो भयो। उनले आफूलाई सम्हाल्न सकिनन्। उनी रोइन्। चिच्याइन्। कराइन्। तर बिस्तारै उनी सम्हालिँदै गइन्।

एसिड आक्रमणमा परेपछि उनलाई धेरै चिन्ता लाग्न थालेको थियो। चिन्ता उनलाई उनलाई आफ्नो स्वरुप बिग्रियो भन्ने होइन, आफ्नो पढाइ छुट्ने चिन्ता थियो। त्यसैले त उनी बेहोसीमा पनि स्कुल, किताब–कापी भनेर बर्बराइरहन्थिन्। बेहोसीमा पढाइको जिकिर गर्दै बर्बराइरहेकी मुस्कानको टाउकोमा हात राख्दै उनका बुवा रसुल अन्सारीले सबै कुरा ठिक हुन्छ भन्ने ढाडस दिइरहन्थे। 

छोरीको पीडामा छटपटिरहेका उनै बुवा–आमालाई मुस्कान बारम्बार सोधिरहन्थिन्, ‘मेरो अनुहारमा के भएको छ ? मलाई यति धेरै मान्छे भेट्न किन आइरहेका छन्। म निको भएर कहिले स्कुल जान्छु ?

मुस्कानमा आएका परिवर्तन

आज मुस्कानको दिन फेरिएको छ, उनी सबै काम गर्ने सक्ने भएर उठेकी छन् । सबैको साथ र मायाले मुस्कानमा आत्मबल बढ्दै गएको छ । गत भदौ २० गतेको घटाना मुस्कानको मनसपटलमा ताजै छ। एसिडबाट बनेका घाउ अझै सुकेका छैनन्। एसिडले छोएको मुस्कानको अनुहारको दायाँपट्टि र घाँटीका खाटा सुक्ने क्रममा छन्।

सुक्नै लागेको अनुहारको घाउलाई खुल्लै छोडेपनि मुस्कान औषधी लगाउँछिन् अनि ‘इन्फेक्सन’ नहोस् भन्नका लागि घाउ छोपेर राख्छिन्। घाँटीमा धेरै पोलिएको थियो, पेटको छाला काँटेर घाँटीमा अप्रेशन’ गरिएको छ।’

उनलाई सबै भन्दा पीडादायी क्षण त्यही हो जुन दिन उनको शरीरको एक ठाउँको छालालाई कटेर अर्को ठाउँ राख्ने गरिन्थ्यो।
एसिड आक्रमण उनको जीवनको नमिठो क्षण भएपनि उनले यो घटनालाई एउटा पाठको रुपमा लिएकी छन्। उनी अगाडि बढ्न थालेकी छन्। ‘मुस्कुराउन’ थालेकी छन्।

मुसुक्क मुस्कुराउँदै उनले भनिन्, ‘म दुखी भए, बाबा–मम्मी दुखी हुनुहुन्छ। त्यसैले अब खुसी हुने हो। राम्रो गर्ने हो।’ प्रधानमन्त्रीदेखि मन्त्रीहरुसँग भेट्दा मुस्कान अत्यन्तै खुसी छिन् । सबैले उनलाई आत्मबल बढाउन सघाए । 

पीडाले विक्षिप्त भएकी मुस्कानलाई नेपाली तथा इण्डियन कलाकारहरुले हौसला प्रदान गरे। कलाकारको आत्मबल अनि हौसालकै कारण आफूमा परिर्वतन आएको मुस्कानले सुनाइन्। अनि फेरि मुसुक्क मुस्काइन्, नामजस्तै।

 

प्रतिक्रिया दिनुहोस