‘पहिराबाट भत्किएको ठाउँ सम्झँदा पनि डर लाग्छ’

रासस

आइतबार, २१ भदौ २०७७, १३ : २८
‘पहिराबाट भत्किएको ठाउँ सम्झँदा पनि डर लाग्छ’

फाइल फोटो

गुल्मी । गत असार ६ र १८ गते  इस्मा गाउँपालिका– १, २, ४ र ६ का विभिन्न ठाउँमा ठूलो पहिरो गयो । पहिरामा पुरिएर वडा नम्बर १  मल्दी र  ढाडपाटमा एकएक  गरी दुई जनाको ज्यान गयो । गाउँपालिकामा झण्डै डेढ सय घरमा क्षति भयो । विस्थापित परिवारले स्थायी आवासको माग गरेका छन् ।  

इस्मा– १ हस्तिचौरका तेजबहादुर कुँवरले आफूहरु अहिले टहरा बनाएर अस्थायी आवासमा बसेको जनाई स्थायी आवासको व्यवस्था मिलाइदिन आग्रह गरे । घर बनाउँदा आफूहरुले श्रमदान गर्ने तर लाग्ने लागत सरकारलाई उपलब्ध गराइदिन उनले आग्रह गरे । 

इस्मा– ४ दोहोलीका मानबहादुर घर्ती असार ६ गतेको पहिराले  विस्थापित भए । घर नजिकै निर्माण गरिएको मोटर बाटाले गर्दा उनको घरगोठ र  खेती गर्ने बारीमा क्षति पु¥यायो । घरगोठमा बस्नै नसक्ने भएपछि उनको नौ जनाको परिवार मुसिकोट नगरपालिका वडा नम्बर १ फुर्सेपोखरामा अस्थायी आवास बनाएर बसेको छ । पानी र पहिरो रोकिए पनि पुरानो ठाउँ बस्नलायक छैन । यसले गर्दा उनलाई स्थायी आवासको आवश्यकता परेको छ । ‘पहिले भत्किएको ठाउँ त सम्झँदा पनि डर लाग्छ, त्यहाँ त जाँदै जाँदैनौ’, घर्तीले भने, ‘हामीलाई एउटा घडेरी र घरको व्यवस्था भइदिए आभारी हुने थियौँ ।’ 

असार १८ गते परेको अविरल वर्षासँगै आएको पहिराले स्थानीयवासी भगवती घर्तीको घर पूर्णरुपमा क्षति ग¥यो । घरमा बस्नै नसक्ने भएपछि उनी र दुई छोरा स्थानीय जनशक्ति प्राथमिक विद्यालयमा बसाइँ सरे । श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् । आफूहरुलाई विद्यालयमा बस्न अप्ठ्यारो भइरहेको घर्तीले बताइन् । ‘फेरि त्यही ठाउँमा गएर बस्न सक्ने स्थिति छैन, विद्यालयमा पनि सधैँभरि बस्ने कुरा भएन ।’ उनले भनिन्, ‘दिगो र सुरक्षित आवासको आवश्यकता परेको छ ।’ 

अर्का स्थानीयवासी शिवलाल खासु मगरले पनि इस्माका विभिन्न ठाउँका बस्ती नै विस्थापित भएकाले सकेसम्म छिटो स्थायी आवासको व्यवस्था मिलाइदिन आग्रह गरे । आफ्नो घर पनि पहिराले बस्नलायक नभएकाले उचित आवासको व्यवस्था गरिदिन सरकारसँग  उनले माग गरे ।  स्थानीय, प्रदेश र केन्द्र  सरकारले आफूहरुको माग सकेसम्म छिटो पूरा गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । मगरको परिवार अहिले छिमेकीका घरमा बस्दै आएको छ । छिमेकीले पनि घर बिग्रियो भनेर तनाव दिएकाले आफू सकेसम्म छिटो स्थायी आवासमा बस्न चाहेको उनले बताए ।

डेढ सय घरमा क्षति
असार ६ गते परेको अविरल वर्षाले गाउँपालिकाका केही ठाउँमा पहिरो गयो । यसले धेरै क्षति हुन नपाए पनि जोखिम बढायो । त्यसैमाथि असार १८ गते परेको अविरल वर्षासँगै गएको पहिराले झण्डै डेढ सय घरमा क्षति पुग्यो ।  वडा नम्बर १ मा १८ घर पूर्ण क्षतिग्रस्त, २५ घर आंशिक र ९३ घर उच्च जोखिममा छन् । वडा नम्बर २ मा तीन घर पूर्ण क्षतिग्रसत र ४७ घर उच्च जोखिममा छन् । वडा नम्बर ४ मा ९ घर पूर्ण क्षतिग्रस्त, १० घर आंशिक र ३१ घर उच्च जोखिममा छन् । वडा नम्बर ६ मा एक घर पूर्ण क्षतिग्रस्त, छ घर आशिंक क्षतिग्रसत तथा एक घर उच्च जोखिममा रहेको गाउँपालिकाका वास संयोजक हरिप्रसाद घिमिरेले जानकारी दिए । 

विस्थापित परिवारमध्ये कतिपय विद्यालयमा, कतिपय अर्कैको घरमा त कतिपय अस्थायी किसिमको टहरा बनाएर गुजारा चलाएका छन् ।  पहिराको उच्च जोखिममा रहेका घरका परिवार भने पुरानै घरमा फर्किएका छन् ।