नेपाली कांग्रेस अब जरैबाट बलियो हुँदैछ : युवा नेता पौडेल

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, १५ : १५
नेपाली कांग्रेस अब जरैबाट बलियो हुँदैछ : युवा नेता पौडेल

चितवन । नेपाली कांग्रेसमा आगामी महाधिवेशनको तयारी अहिले तीब्ररुपमा अघि बढेको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको काम देशैभरि भएसँगै महाधिवेशनको माहोल बढेको हो । सभापति शेरबहादुर देउवा एकलौटी विभाग विस्तारमा व्यस्त देखिन्छन् । तर विभाग विस्तारलाई मान्यता नदिनेभन्दै संस्थापनइतर समूहले असन्तुष्टि जनाइरहेका छन् । यतिबेला विभाग विस्तार गरेर देउवाले निर्वाचनलाई प्रभाव पार्ने प्रपञ्च रचेकोले संस्थापनइतर समूहले कडा विरोधको कार्यक्रम ल्याउने तयारीमा छ । यद्यपी कस्तो खालको विरोधका कार्यक्रम गर्ने या नगर्ने भन्ने टुङ्गो लागिसकेको भने छैन ।  

अहिले नेतृत्वकै कारण कांग्रेस अप्ठेरोमा परेको र नेतृत्वले निर्वाचन प्रभाव पर्नेगरी काम गरेकोले आफूहरुले मान्यता नदिने संस्थापनइतरको ठहर छ । यता चितवन काङ्ग्रेस पनि   बेलाबखत चर्चामा आउने गरे पनि अहिले यस विषयमा खासै चर्चा गरेको देखिंदैन । चितवन जिल्ला अहिले भने कम्युनिष्टहरुको हालीमुहाली र दबदबामा छ । कांग्रेसले अझ पनि सम्पूर्ण चितवनवासीको मन जित्न सकेको छैन । आगामी महाधिवेशनपछि चितवन काङ्ग्रेसको भविश्य कस्तो होला त ? पार्टीका एजेन्डा, योजना भावी रणनीति कस्तो हुनुपर्छ ? कसरी लैजानुपर्छ भन्ने विषयमा चितवन काङ्ग्रेसका जिल्ला सदस्य नविनराज पौडेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, कांग्रेसको समग्र विषयमा केन्द्रित रहेर पौडेलसँग गरिएको कुराकानी । 

नेपाली कांग्रेसको महाधिवेशन समयमै होला त ? तपाईंको अनुमान के छ ?
नेपाली कांग्रेसको महाधिवेशनको सरगर्मी सुरू भइसकेको छ ।  अब कोभिड–१९ प्रभाव मत्थर भएसंँगै महाधिवेशन पनि तोकिएकै समयमा हुने बुझिएको छ। पार्टीमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकिएपछि महाधिवेशन हुनुपर्छ भन्ने मेरो बुझाई हो । देशको परिस्थिति अवस्था हेरेर केही दिन, महिना हेरफेर हुन सक्ला तर अब धेरै ढिला भइसक्यो । जति ढिला महाधिवेशन गरिन्छ त्यति पार्टीलाई क्षति हुन्छ । जसले गर्दापनि महाधिवेशन समयमै हुने आशा छ ।

फागुनमै  काँग्रेसको महाधिवेशन हुने सम्भावना कत्तिको छ ?
फागुनमा गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै नेताहरुले गर्नुभएको छ  । केन्द्रीय सभापतिको पनि छ । फागुनमा सम्पन्न गर्न कार्यतालिका समेत बनाइएको छ । तीन तहको संरचना अनुरुप अन्तरिम संरचना बन्ने क्रममा छ । त्यसैले केही महिना पर सरे पनि निर्धारित समयमै महाधिवेशन हुन्छ । नेतृत्वको होडबाजी छ । 

दोस्रो पुस्ताले नेतृत्व गर्ने सम्भावना कत्तिको छ ?
अहिले पार्टीको प्रमुख प्रतिपक्ष दलको भूमिका कमजोर  स्थितीमा छ । यद्यपि देशैभरी  कार्यकर्ता काङ्ग्रेस उमार्ने मेलोमा लागेका छन् । कार्यकर्ता रुष्ट भए पनि धेरै  चिन्तित छन् । अब महाधिवेशनको विकल्प छैन । पार्टी बिग्रिएको छ, लथालिंग भएको छ । त्यसैले यो पटक नेतृत्व  सही छनौट भयो भने फेरी काङ्ग्रेस जरैदेखि बलियो हुन्छ ।  त्यसको लागि सभापति  विवादरहित, निस्कलंकित, बैचारिक क्षमताको हुनुपर्छ ताकि कम्युनिस्टले हेप्न चेप्न नसकुन ।

अहिलेको अवस्थामा धेरै आकांक्षी छ्न्, सस्थापनइतर पक्षको एउटा उमेद्वारी हुने सम्भावना के छ ?
अहिलेसम्म सबै प्रचारमा हुनुहुन्छको नेता हुने वा को सभापति हुने पछिको कुरा हो । को निर्वाचनमा सभापति लड्ने भन्ने त मनोनयन दर्ता गर्ने बेलामा थाहा हुन्छ । सभापितको आकांक्षीमा मात्रै आधा दर्जन नेताको रहेको भन्ने सुनेको छु । अब आन्तरिकरुपमा छलपपल भएपछि टुंगो लाग्ला । अहिले यसै भन्न सकिने अवस्था छैन । 

तपाईंको पनि चितवन कांग्रेसमा चर्चा छ के मा उम्मेद्वार  हुनुहुन्छ ?
म भर्खरै पार्टीको पोलिटिक्स र समितिमा आएको छु । धेरै   वर्ष पार्टीको प्रचार विभाग र संचार समन्वयमा काम गरें । अब जिल्ला भरिका साथीभाईको चाहना बुझेर जिल्ला समितिको पदाधिकारी बन्ने प्रयासमा छु । हेरौं समयले कत्तिको साथ दिन्छ । 

चितवन काँग्रेसमा अबको सभापतिको बन्ला ?
धेरै साथीहरु मैदानमा हुनुहुन्छ यो वा त्यो  गुट नभनी  एकाकार गरी आगामी चुनाव हाँक्न सक्ने पार्टीलाई जिताउन कटिबद्द एकजना कोही पक्कै सभापति हुनुहुन्छ ।

तपाईंको विचारमा अबको काँग्रेस कस्तो हुनुपर्छ ?
अबमात्र होइन काङ्ग्रेस सधैं बिचारसहित् अडिलो र स्वावलम्बी हुनुपर्छ । जसको नेतृत्व अरुले पनि सहज् स्विकार्ने खालको  होस् । गुटउपगुटको अन्त्य होस् । सबै नेता कार्यकर्ताको भावना बुझेर आआफ्नो जिम्मेवारी दिइयोस । पार्टीमा योगदान दिएका, पार्टीप्रति समर्पित र निष्ठावान भएका व्यक्तिलाई ठाउंँ दिने पार्टी हुनुपर्छ भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस