‘पब्जी’माथिको प्रतिबन्धपछि भारतमा ‘फौजी’ को तयारी

एजेन्सी

शनिबार, २० भदौ २०७७, १२ : ०७
‘पब्जी’माथिको प्रतिबन्धपछि भारतमा ‘फौजी’ को तयारी

एजेन्सी । पब्जी लगायतका ११८ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको भारतले अब 'फौजी' नामक मल्टीप्लेयर एक्सन गेम लन्च गर्ने तयारी गरेको छ । मल्टिप्लेयर एक्सन गेम फौजीलाई अभिनेता अक्षय कुमारले प्रवर्द्धन गर्ने बताइएको छ ।

 बलिउड अभिनेता अक्षय कुमारले ‘फौजी’ गेम चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन्। भारतमा नरेन्द्र मोदी सरकारले पब्जी लगायत एपहरुमाथि प्रतिबन्ध लगाएपछि पब्जीकै जस्तै 'फौजी' गेम ल्याउन लागिएको हो। स्थानीय मिडियाले 'फौजी' लाई 'पब्जी' को भारतीय संस्करण भएको उल्लेख गरेका छन् ।

अक्षयले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानलाई सहयोग गर्न मल्टिप्लेयर एक्सन गेम ल्याउन लागिएको बताएका हुन् । फौजीलाई फियरलेस एन्ड युनाइटेड–गार्डस् नाम दिइएको छ । यो खेलबाट प्रयोगकर्ताले भारतीय सैनिकहरुको बलिदानीबारे थाहा पाउने पनि अक्षयले बताएका छन् ।

गेमको राजस्वको २० प्रतिशत रकम मृतक सैनिकका परिवारलाई सहयोग गर्न गृह मन्त्रालयद्वारा गठन गरिएको 'भारत के वीर ट्रष्ट' मा खर्चिइने बताइएको छ । यो खेललाई बैंग्लोरस्थित एनकोर गेम्सले डेभलप गर्दै छ ।

प्रतिक्रिया दिनुहोस