काठमाडौँ । पछिल्ला तथ्यांकहरूले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै विस्तार भइसकेको देखाएका छन् । पछिल्लो सात दिनको पर्सेन्टेज पोजिटिभ रेट (पीपीआर) बिहीबार गणना गरेर हेर्दा उपत्यकाको औसत ११.७० को हाराहारीमा छ भने देशभरको औसत ८.७ छ ।
जनस्वास्थ्य विज्ञका अनुसार पीपीआर ५ भन्दा माथि भए त्यसले संक्रमण समुदायस्तरमा व्यापक भएको वा परीक्षणको दायरा फराकिलो हुन नसकेको दर्शाउँछ ।
उपत्यकाको पछिल्ला सात दिनको पीपीआर एक दिनबाहेक दोहोरो अंकमा छ जुन आवश्यक मापदण्डभन्दा दुई गुणा बढी हो । विश्व स्वास्थ्य संगठनले विश्वभरका देशहरूलाई जनजीवन सामान्य रूपमा फर्काउनुपूर्व १४ दिनसम्म पीपीआर ५ प्रतिशतभन्दा तल हुनुपर्ने सुझाव दिएको छ ।
यो संख्या बढ्नुको मतलब हामीकहाँ लक्षण देखिएर वा कुनै समस्या भएर परीक्षण गराउन पुगेकाको मात्रै परीक्षण भइरहेको छ, समुदायस्तरमा परीक्षण भएको छैन भन्ने पनि हो । एकातर्फ देशैभर संक्रमण फैलने दर उकालो लाग्दै छ भने अर्कोतर्फ कोरोनाकै कारण मृत्यु हुनेहरूको संख्या भदौ १४ को तथ्यांकलाई आधार मान्दा १४ दिनमा दोब्बर भएको छ ।
उपत्यकामा पछिल्लो दुई साताको तथ्यांक केलाउँदा संक्रमितहरूको संख्या दोब्बर हुने दिन घट्दै गएको छ । बिहीबारको तथ्यांकअनुसार करिब ९ दिनमा उपत्यकामा संक्रमितको संख्या दोब्बर हुने देखिन्छ । देशभर संक्रमितहरूको संख्या दोब्बर हुन लाग्ने समय पनि घट्दै गएको छ । दोब्बर हुन लाग्ने समय जति घट्दै गयो, संक्रमण उति तीव्र भइरहेको छ भन्ने बुझिन्छ । साउन ६ गते लकडाउन अन्त्य भएको दिन देशभर संक्रमितहरूको संख्या दोब्बर हुने दर ८२.५ थियो । जसको मतलब करिब ८२ दिनमा संक्रमितको संख्या दोब्बर हुन्छ भन्ने अनुमान हो । तर, त्यो गणितीय अनुमानलाई धेरै पछि छोड्दै करिब ४० दिनमै संक्रमितको संख्या दोब्बर भयो ।
तथ्यांक विश्लेषण गर्ने अन्तर्राष्ट्रिय वेबसाइट स्टाटिस्टा डटकममा भदौ १५ मा प्रकाशित रिपोर्टमा भदौ १४ गतेको तथ्यांकअनुसार नेपालमा संक्रमितहरूको संख्या दोब्बर हुन ३४ दिन लागेको थियो । जबकि सोही रिपोर्टका अनुसार विश्वमा संक्रमितहरूको संख्या दोब्बर हुन ५० दिन लागेको देखिन्छ ।भदौ १६ गतेसम्मको तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा अबको अवस्थामा संक्रमितहरूको संख्या दोब्बर हुन करिब २६ दिन लाग्न सक्छ । हाल धेरै संक्रमित देखिएका जिल्लाहरूमा निषेधाज्ञा भए पनि संक्रमित हुने क्रम घटेको छैन ।
यी सबैभन्दा पनि डरलाग्दो स्थिति मृत्युको हो । स्टाटिस्टा डटकममै भदौ १५ गते प्रकाशित अर्को एक रिपोर्टअनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भदौ १४ गतेको तथ्यांकअनुसार १४ दिनमै दोब्बर भएको देखिन्छ । यसरी हेर्दा नेपाल जोखिमको हिसाबले नवौं स्थानमा पर्छ । सबैभन्दा माथि बोत्सवाना रहेको छ, जहाँ ४ दिनमा मृतकको संख्या दोब्बर भएको थियो । विश्वमा मृतकको संख्या दोब्बर हुने औसत दिन ७९ छ । सबैभन्दा पहिला कोरोना भाइरसको संक्रमण देखिएको चीनमा मृतकको संख्या दोब्बर हुन १९० दिन लागेको उक्त रिपोर्टमा उल्लेख छ ।
विज्ञ भन्छन्– अंकलाई हेरेर तयारी गरौं
जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालाइटिक्स विज्ञ डा। विशाल भण्डारीका अनुसार अंकहरूले देखाएको परिदृश्यलाई बदल्ने हो भने सोहीअनुरूप योजनाहरू बनाउनुपर्छ । ‘भदौ १६ को तथ्यांकलाई विश्लेषण गर्दा संक्रमितको संख्या नेपालमा दोब्बर हुन २६ दिन लाग्ने देखिन्छ । काठमाडौं उपत्यकामा करिब ९ दिनमा यो संख्या दोब्बर हुने देखिन्छ । त्यो भनेको अहिलेको जस्तै अवस्था रह्यो भने हो,’ उनले भने, ‘तर अहिलेको अवस्थालाई परिवर्तन गर्ने गरी काम गरियो भने त्यो अनुमानमा पनि फरक पर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २० भदौ २०७७, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण