उपचार नपाएपछि बन्यो प्रशासनको गुनासो सुन्ने संयन्त्र

रासस

शुक्रबार, १९ भदौ २०७७, १७ : १८
उपचार नपाएपछि बन्यो प्रशासनको गुनासो सुन्ने संयन्त्र

चितवन । जिल्लामा कोरोनाको सङ्क्रमण बढेसँगै अस्पतालमा आएका बिरामीले उपचार नपाएर मृत्यु हुन थालेपछि स्थानीय प्रशासनले चासो देखाएको छ । प्रशासनले चासो देखाउँदै बिरामीले उपचार नपाउने अवस्था रोक्नका लागि गुनासो सुन्ने संयन्त्र निर्माण गरी काम शुरु गरेको हो । 

जिल्लाको सदरमुकाममा रहेका ठूला अस्पतालले बिरामी भर्ना नलिँदा समयमै उपचार नपाई चार जनाको मृत्यु भइसकेको छ । गएको सोमबार अस्पताल चाहार्दा चाहार्दै अन्तिममा भरतपुर अस्पताल पुगेका भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, १८ वर्षीया युवती र पूर्वीचितवनको खैरहनी नगरपालिका –१३ की ५५ वर्षीया महिलाको ज्यान गएको थियो । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसिआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमा नै मृत्यु भएको हो । मृत्यु पश्चात कोरोना परीक्षण गर्दा तिनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो । अर्का एक जनाको अस्पतालले भर्ना नलिएपछि अस्पताल बाहिर मृत्यु भएको थियो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीसहित तीन जनालाई गुनासो सुन्ने संयन्त्रको रुपमा रहने गरी समिति गठन गरिएको हो । समितिमा रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी शाहीको ९८५१२२७८६१, अन्य गुनासो सुन्ने संयन्त्रमा फिल्ड अधिकृत प्रहरी निरीक्षकको ९८५५०४६००५ र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको ९८४४२०८८८८ नम्बर सार्वजनिक गरिएको छ । 

यसअघि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयबाट भरतपुर अस्पताल विकास समितिका अध्यक्षको संयोजकत्वमा विभिन्न अस्पतालका प्रतिनिधि रहने गरी स्वास्थ्य क्षेत्र समन्वय समिति निर्माण गरिएको थियो । यसका बाबजुद पनि गुनासो नरोकिएको भन्दै जिल्ला प्रशासन कार्यालयले सबै क्षेत्रको गुनासो सुन्नेगरि संयन्त्र वनाएको हो । 

प्रतिक्रिया दिनुहोस