चितवनमा उपचारको क्रममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१

चितवनमा प्लाज्मा थेरापी गरिएकी मकवानपुरकी सङ्क्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, १६ : ०४
चितवनमा प्लाज्मा थेरापी गरिएकी मकवानपुरकी सङ्क्रमित महिलाको मृत्यु

चितवन । चितवनमा प्लाज्मा थेरापी गरिएकी मकवानपुरकी कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।  चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको थियो । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए । पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बि पोजेटिभ’ रहेको थियो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए । प्लाज्मा दिए पनि संक्रमित महिला बाँच्न सफल भइनन् । 

ती महिलाको बिहीबार रातिमात्रै डा शीतल अधिकारी र डा  लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । यससँगै चितवनमा उपचारको क्रममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस