पहिरोबाट थुनिएको खोलाले बस्ती बगाउदा १४ को मृत्यु, एकै घरका ५ सहित ३९ बेपत्ता

पत्रपत्रिकाबाट

शुक्रबार, १९ भदौ २०७७, ०७ : ४३
पहिरोबाट थुनिएको खोलाले बस्ती बगाउदा १४ को मृत्यु, एकै घरका ५ सहित ३९ बेपत्ता

बागलुङ । मध्यरातमा घर भूकम्पले हल्लाएझैं भयो । ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटका निमबहादुर विक हतार–हतार उठे र बाहिर निस्किए । त्यतिन्जेल भुजीखोलाको बाढी घरभित्र पसिसकेको थियो । छोराछोरी च्यापेर सुरक्षित ठाउँ खोज्न निस्कँदानिस्कँदै घर गर्ल्यामगुर्लुम ढल्यो ।भागाभाग गरेर उनी, श्रीमती, दुई छोरा र एक छोरीले ज्यान बचाए । पालेका पशुपन्छी सबै बगे । हेर्दाहेर्दै उनको घरछेउको बस्ती नै बग्यो । विक परिवारले झरीमा रुझेर बुधबारको रात कटाए ।

लाँकुरीबोट मात्र होइन, भट्टेचौर, सुपुर्दुङ र फलेघरलगायत बस्तीका निद्राबाट ब्युँझिन भ्याएका केहीले रोइकराइ गर्दै भागेर ज्यान बचाए । धेरैलाई बाढीले बगाएर लग्यो । स्थानीय ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतका अनुसार ढोरपाटन–सालझन्डी सडक खण्डको देउरालीबाट खसेको पहिरोले बुधबार साँझ नै भुजीखोला थुनिँदा तालजस्तो बनेको थियो । मध्यरात एक्कासि पहिरोको अवरोध भत्काउँदै खोलाले बाढीको रूप लियो र तटीय क्षेत्रका बस्तीमा पस्यो ।

भुजीखोला ढोरपाटन लेकको पूर्वी पानीढलो भए र बग्ने भुजीखोला–बुर्तिवाङ हुँदै आधा दर्जन खहरेसँगै बडीगाड खोलामा मिसिएको छ । लेकमा मुसलधारे वर्षा हुँदा भुजीखोलामा जलस्तर बढ्छ । ‘पहिरोले छेकेको खोला साँझ तालजस्तो बन्दै थियो । खोलाले मध्यरातमा ढुंगामाटोको अवरोध खोल्दा बाढी आएको हो,’ उनले भने, ‘सबै जना मस्त निद्रामा हुने बेला परेर ठूलो क्षति भयो ।’ ज्ञानोदयको कक्षा १० मा पढ्ने सुस्मिता विकका पाँच जनाको परिवारै बाढीमा बेपत्ता भएको उनले बताए ।

बाढीले ढोरपाटन–७, ८ र ९ वडाका ४० घर बगाएको प्रारम्भिक तथ्यांक छ । बेपत्तामध्ये बिहीबार साँझसम्म १४ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताएका छन् । भेटिएका शवमध्ये ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केसमाया विक र लाँकुरीबोटका ४५ वर्षीय करबहादुर विकको मात्रै सनाखत भएको छ ।

बस्तीदेखि १५ किलोमिटर तल खोलाको तीरमा पनि केही शव भेटिएका छन् । ‘क्षतविक्षत शव र केहीका हातखुट्टा मात्रै भेटिएकाले पहिचानमा समस्या भएको छ,’ प्रजिअ न्यौपानेले भने, ‘बेपत्ताको खोजी जारी छ ।’ स्थानीयका अनुसार उक्त क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती फलेघरभन्दा करिब ५ सय मिटरमाथि पहिरो खसेर भुजीखोलाको बहाव थुनिएको थियो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस