मौसम खराबीका कारण राहत बोकेर गएको गृहमन्त्री सवार हेलिकप्टर फर्कियो

रासस

विहीबार, १८ भदौ २०७७, १३ : २९
मौसम खराबीका कारण राहत बोकेर गएको गृहमन्त्री सवार हेलिकप्टर फर्कियो

काठमाडौँ । बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ ।

गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत लिएर बागलुङको बाढी प्रभावित क्षेत्रमा गएको थियो । 

बाग्लुङ्को ढोरपाटनका बाढीपीडितका लागि राहत लिएर गएको हेलिकप्टर स्याङ्जा पुगेपछि मौसम खराब भएकाले पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । उनका अनुसार मौसम अनुकूल भएपछि हेलिकप्टर पुनःराहत लिएर ढोरपाटन प्रस्थान गर्नेछ । 

हेलिकप्टरमा दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री रहेको जनाइएको छ । 

गएराति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ । यहाँको बाटो क्षत्विक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन । त्यहाँका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले गाडी जान नसकेपछि थप उद्धार टोलीसहित पैदल नै घटनास्थलतर्फ गइरहेको बताए । प्रहरी र सेनाको टोलीले अहिले उद्धार कार्य जारी राखेका छन् ।

उनका अनुसार प्राप्त प्रारम्भिक विवरणमा बाढीबाट यहाँ ३६ जना हराएकामा ११ जनाको शव प्राप्त भएको छ ।नगरपालिकाको चार वटा वडामा बढी क्षति भएको उनले जानकारी दिए ।