श्वास हुन्जेल अस्पताल चहार्दै ठिक्क, मरेपछि कोरोना परीक्षण

पत्रपत्रिकाबाट

विहीबार, १८ भदौ २०७७, ०८ : १६
श्वास हुन्जेल अस्पताल चहार्दै ठिक्क, मरेपछि कोरोना परीक्षण

भरतपुर । बाँचुन्जेल अस्पताल चहार्दैमा दिक्क भएका चितवनका तीन जना बिरामी अन्तिम अवस्थामा भरतपुर अस्पताल त पुगे तर त्यहाँ कुनै पनि परीक्षण हुन नपाइ उनीहरूको मृत्यु भयो । मरेपछि बिरामीको स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना पोजेटिभ देखियो ।

तीनै जना बिरामीको भरतपुर अस्पतालमा मृत्यु भएको हो । चितवनका वरिष्ठ फिजिसियनसमेत रहनुभएका भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारी उनीहरू अन्तिम अवस्थामा मात्रै आइपुगेकाले उपचार गर्न नभ्याएको प्रतिक्रिया दिनुभयो । “श्वास प्रश्वासको समस्या भएपछि बिरामी अस्पताल चाहर्दा–चाहर्दै अन्तिममा भरतपुर अस्पताल आइपुगेकाले उनीहरूको कुनै पनि परीक्षण गर्न नपाउँदै मृत्यु भयो”, उहाँले भन्नुभयो । अस्पतालमा सोमबार राति मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला, भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरुष र सोही स्थानकी १८ वर्षीय युवती रहेको बताइएको छ । उनीहरू पहिला निजी अस्पतालहरू चहार्दाचाहर्दैमा समय बितिसकेको थियो ।

भरतपुर अस्पतालका प्रवक्ता लीलाधर पौडेल कति बिरामीलाई उपचार गर्न निजी क्षेत्रका अस्पतालले नमानेको आरोप लगाउनुहुन्छ । “कुनै पनि अस्पतालमा आएका बिरामीलाई तत्काल सोही अस्पतालले व्यवस्थापन गरेर आफूसँग आईसीयू नभए खाली भएको अस्पतालमा समन्वय गरेर रिफर गर्ने हो भने बिरामीको मृत्युदर कम गराउन सकिन्थ्योे”, उहाँले भन्नुभयो ।

कतिपय बिरामीले तत्काल अक्सिजन र भ्यान्टिलेटर पाए बचाउन सकिने तर यस्ता बिरामी अस्पताल आउनै ढिला हुनेभएको समस्या हुने गरेको उहाँले जनाउनुभयो । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका निजी अस्पताललाई सोमबार मात्रै सूचना जारी गरेर अस्पतालमा आउने ज्वरोका बिरामीको उपचार गर्न अनुरोध गरेको थियो । सूचना जारी भएकै दिन उपचारको अभावमा तीन जना बिरामीले मृत्यु भएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस