भारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखमा झडप

एजेन्सी

सोमबार, १५ भदौ २०७७, १२ : ३८
भारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखमा झडप

फाइल फोटो

एजेन्सी । चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको भारतीय सेनाले आरोप लगाएको छ ।

भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको हो । चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ ।

चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको बताइएको छ । चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतीय अधिकारीहरुले बताएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका कर्नेल आमन आनन्दले भनेका छन्, "अगस्ट २९ र ३० को राति चिनियाँ जनमुक्ति सेनाले पहिलाको सहमति अनुसारको यथास्थितिलाई परिवर्तन गर्न सैन्य उक्साहट गरेको थियो। जसलाई भारतीय सेनाले रोकेको छ।" उनले चिनियाँ पक्षले उक्त क्षेत्रमा एकपक्षीय रूपमा तथ्यहरू परिवर्तन गर्न खोजेको पनि आरोप लगाएका छन् ।

भारतले चिनियाँ सेनासँग झडप भएको बताएपनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बीबीसीहिन्दीले जनाएको छ । यस झडपमा भएको हताहतीको विषयमा पनि कुनै जानकारी दिइएको छैन।

गत जुनमा लद्दाखको गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको  झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।

उक्त घटनापछि दुई आणवीक शक्ति राष्ट्रहरूले विवादलाई थप अघि नबढाउन के गर्छन् भन्ने विश्वव्यापी चासो बनेको थियो।

चीन र भारत दुबैले अहिले सैनिक र कूटनीतिक माध्यमबाट विवाद  समाधानका लागि वार्ता गरिरहेका छन्। सँगसँगै उनीहरूले विवादित क्षेत्रमा सैन्य जनशक्ति र स्रोतसाधन पनि थपिरहेका छन् । यही तनावबीच शनिबार र आइतबार रातिका झडप भएका हुन् ।  

प्रतिक्रिया दिनुहोस