कर्णाली नदी फुट्ने खतरा बढ्यो

सफल खबर संवाददाता

सोमबार, १५ भदौ २०७७, ११ : २८
कर्णाली नदी फुट्ने खतरा बढ्यो

टीकापुर  । नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा बढेको छ । टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनको मूलपानीमा कर्णाली नदीले तटबन्ध कटान गर्दा टीकापुरमा जोखिम बढेको हो । नदीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध कटान शुरु गरेको छ ।

“कटान तीव्ररुपमा भइरहेको छ । नदीले बहाव बदल्ने देखिन्छ”, स्थानीय झपट सोडारीले भने, “यसलाई नियन्त्रण नगरे बस्तीमा क्षति पुग्ने निश्चित छ । नदी बस्तीमा पसे टीकापुर २, ७, ८ सखाप हुने देखिन्छ । हजारौँ घर डुबानमा पर्नेछन् ।”
सोडारीका अनुसार यस वर्ष नै निर्माण गरिएको तटबन्ध कमजोर रहेकाले नदी कटान बढेको हो । नदीले कटान तीव्र पार्दा नदी बस्तीमा फर्किने अवस्था आएको उनको भनाइ छ । भन्छन्, “नदीलाई तत्काल नियन्त्रणको प्रयास नभए बस्ती सखाप हुन्छ ।” नदी कटानले करिब १०० मिटर तटबन्ध बगेर जाने अवस्थामा पुगेको छ ।

तटबन्ध बगे कर्णालीको पानी नगरक्षेत्र पस्ने जोखिम रहेको छ । नदीले कटान गरिरहेको क्षेत्रलाई टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, सिँचाइ आयोजनाका प्रतिनिधि, प्राविधिकसहितको टोलीले निरीक्षण गरेको छ ।  “नदी कटानका कारण बस्ती जोखिम पर्ने देखिएको छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा विपद् समितिको बैठक बसी तत्कालका लागि जैविक तटबन्ध गर्ने निर्णय भएको छ”, नगर प्रमुख रावलले भने, “नदीमा पानीको बहाव घट्न थालेपछि कटान बढेको छ । नदी कटान नरोके वडा नं २ पूरै उच्च जोखिममा पर्नेछ ।”

विपद् समितिले तत्काल जैविक तटबन्धका लागि नदी नियन्त्रण एकल प्रयासबाट मात्र सम्भव नभएकाले सशस्त्र र जनपद प्रहरीको सहयोग लिने निर्णय गरेको छ । नदीमा आजैबाट नियन्त्रणको प्रयास शुरु गरिने भएको छ । यसका साथै नदी नियन्त्रणका लागि थप व्यवस्था गर्न जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिलाई गुहार गर्ने निर्णय गरी जिल्लालाई अनुरोध गरेको नगर प्रमुख रावलले बताए ।

“हामी एक्लैले नियन्त्रण सम्भव छैन, जिल्लालाई पहल गर्नका लागि अनुरोध गरेका छौँ”, उनले भने, “तत्काल सिँचाइ र नगरपालिकाले मिलेर स्थानीय, सशस्त्र प्रहरी र जनपद प्रहरीको सहयोग लिएर स्थानीय स्रोतको प्रयोग गरी नियन्त्रणको प्रयास गर्छौैं ।” कर्णाली नदीको कटानले टीकापुर–५ स्थित टीकापुर पार्क क्षेत्रमा बनेको तटबन्धको माटोसमेत बगाउन थालेको छ । त्यहाँ पनि कटानको जोखिम रहेकाले यहाँ थप त्रास सिर्जना भएको छ ।

पार्क क्षेत्रमा तटबन्ध भत्किए टीकापुर पार्क तहसनहस हुनेछ । “पार्क किनारमा रहेको कर्णाली नदीको तटबन्ध भत्किए टीकापुर–५, ७, ८ वडामा डुबान र कटान हुनेछ”, स्थानीय बडघर धर्मराज जैसीले भने, “सिँचाइले नदी नियन्त्रणको काम निरन्तर गर्न आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस