चितवनको इच्छाकामना गाउँपालिकाको कार्यालयमा ताला

सोमबार, १५ भदौ २०७७, ०७ : ५०
चितवनको इच्छाकामना गाउँपालिकाको कार्यालयमा ताला

मुग्लिन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् । 
गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय  सञ्चालन हुँदै आएको थियो ।

सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस्तावमा प्रष्ट बहुमत नपुगेपछि चुम्लिङटार र फिस्लिङ कहाँ राख्ने भनेर टुङ्गो लागेको थिएन । वडा कार्यालय फिस्लिङ राख्नुपर्ने प्रस्ताव वडाध्यक्ष गोवद्र्धन अधिकारीको थियो भने चुम्लिङटार हुनुपर्ने प्रस्ताव वडा सदस्य डिलबहादुर चेपाङको रहेको थियो । दुवै प्रस्तावमा जनप्रतिनिधिहरुको सङ्ख्याबाट बहुमत नपुगेपछि वडा कार्यालय कहाँ रहने भनी टुङ्गो लाग्न सकेको  थिएन ।  

असन्तुष्ट स्थानीयवासी शिव पौडेलले कोरोनाका कारण निषेधाज्ञा जारी रहेको समयमा वडा कार्यालय फिस्लिङ नै स्थायीरूपमा सार्ने मनसायले गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको मिलेमोतेमा वडाध्यक्ष अधिकारीले जनतालाई थाहा नै नदिई सुटुक्क वडा कार्यालय सारेको आरोप लगाए । उहाँले विवाद समाधान नभई वडा कार्यालय अन्यन्त्र सारेकाले दवाब दिन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको बताए ।

विवाद समाधान नभएसम्म ताला नखुल्ने उनले चेतावनी दिएका छन् । गाउँपालिका अध्यक्ष र वडाध्यक्षले जनताको माझ पर्ने स्थान छाडेर आफ्नै गाउँ फिस्लङमा सारेको असन्तुष्ट स्थानीयवासीहरुले आरोप लगाएका  छन् ।  वडाध्यक्ष अधिकरीले भने विवाद नटुङ्गिएसम्मका  लागि मात्र अस्थायीरूपमा तत्काल कार्यालय सञ्चालनका लागि फिस्लिङस्थित क्लबको भवनमा सामान लगिएको  बताए ।

आगामी गाउँसभामा पारित हुने स्थानमा नै   वडा कार्यालय स्थापना हुने  भन्दै आक्रोशित नबन्न आग्रह गरेका छन. । गाउँपालिका अध्यक्ष गुरुङले पनि तत्कालका लागि अस्थायीरूपमा मात्र फिस्लिङमा वडा कार्यालय सञ्चालन गर्न लागिएको बताए । उनले आगामी गाउँसभाबाट पारित हुने स्थानमा नै वडा कार्यालय स्थापना हुने  बताए ।

प्रतिक्रिया दिनुहोस