बराह ग्रुपको सहयोग : धरानमा स्वास्थ्य सामग्री, देवघाटमा खाद्यान्न

सफल खबर संवाददाता

आइतबार, १४ भदौ २०७७, १४ : ३७
बराह ग्रुपको सहयोग : धरानमा स्वास्थ्य सामग्री, देवघाटमा खाद्यान्न

चितवन । बराह ग्रुपले आफ्नो २६ औँ वार्षिक उत्सव कोरोना नियन्त्रणमा केन्द्रित गरेको छ । विगतका वर्षहरुमा रक्तदान, आश्रममा गएर खाना खुवाउने, आफ्ना ग्राहकहरुलाई उपहार बितरण गर्ने, सञ्चारकर्मीलाई सम्मान गर्ने बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने गरेको यो ग्रुपले यो वर्ष कोरोनाको महामारी रहेकाले वार्षिक उत्सवका कार्यक्रम पनि कोरोना केन्द्रित गरेको ज्वेलरीले जनाएको छ ।

बराह ग्रुपले २६ औँ वार्षिक उत्सवको अवसरमा धरानमा रहेको जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतलाई पञ्जा, मास्क र सेनिटाईजर वितरण गरेको छ । 

चितवनमा रहेको बराह ज्वेलरीले चौथो वार्षिक उत्सवको अवसरमा देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित वृद्धाश्रमका लागि ३४ हजार ६ सय बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको चितवन ब्राञ्च प्रमुख शरणकुमार लामिछाने बताए ।

आफ्नै कम्प्लेक्सबाट देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेलाई चामल, तेल, नुन, मसला लगायतका सामग्री हस्तान्तरण गरेको उनको भनाई छ । बराह ग्रुपले नुनदेखि सुनसम्मको कारोबार गर्ने गरेको लामिछानेले बताए ।  

धरान, धनकुटा, मोरङ, काठमाडौँ, ललितपुर, पोखरा, चितवन गरी ९ जिल्लामा आफूहरुको शाखा बिस्तार गरेको उनी बताउँछन् । दुबई, चीन, बेलायत, हङकङमा गरी ५ देशमा यसको शाखा रहेको उनले बताए । बराह ग्रुप पूर्वकै नम्बर १ रक्तदाता समूह बनेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस