समुन्नत नेपाल निर्माणका लागि असल कर प्रणाली आवश्यक

विहीबार, ०७ मंसिर २०७४, १५ : २१
समुन्नत नेपाल निर्माणका लागि असल कर प्रणाली आवश्यक

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत थानप्रसाद पंज्ञानीले समुन्नत नेपाल निर्माणका लागि असल कर प्रणाली आवश्यक हुने बताएका छन् ।
आन्तरिक राजश्व कार्यालयले बिहीबार भरतपुरमा आयोजना गरेको छैठौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन समारोहलाई सम्बोधन गर्दै पंज्ञानीले यस्तो बताएका हुन् । असल करदाता र असल कर प्रणालीबाट समुन्नत नेपाल बनाउन सकिन्छ, उनले भने, करदाताहरुले करबाट भाग्ने होइन यसलाई स्वीकार्ने काम गर्नुपर्छ ।
सबै करदाता करको दायरामा नआएसम्म आर्थिक वृद्धि, विकास र समृद्धि सम्भव नहुने उनको भनाइ थियो । प्रमुख कर अधिकृत पंज्ञानीले आर्थिक वृद्धिबाट आर्थिक विकास र आर्थिक विकासबाट आर्थिक समृद्धि प्राप्त हुने बताए । उनले कर प्रशासन र निजी क्षेत्रमा रहेका कमी, कमजोरी केलाएर समीक्षा गर्दै सम्बन्ध सुमधुर बनाउनु पर्ने बताए । उनले सबैको साझा गन्तव्य बनेको विकास र समृद्धिका लागि सुदृढ अर्थतन्त्र र बलियो कर प्रणाली चाहिने जानकारी गराए । 
घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत होमप्रसाद घिमिरेले करसँग डर होइन भर मान्नु पर्ने बताए । उनले जनताले कर तिरेर गर्ने योगदानले नै देश समृद्ध बन्ने विचार व्यक्त गरे । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले न्यून बिजकीकरणको समस्या बताउँदै सही भन्सार दरमा कर उठाउने हो भने अहिलेको भन्दा दस गुणा बढी कर उठ्ने बताए ।


कर सप्ताह समापन कार्यक्रममा चितवन जिल्लाबाट सबैभन्दा बढी आय कर तिर्ने एनपीआई नारायणी सामुदायिक अस्पताल र नवलपरासीबाट सबैभन्दा बढी आय कर तिर्ने विजय लघुवित्त संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो । अस्पतालका तर्फबाट चुडामणि खनाल र लघुवित्तका तर्फबाट वसन्त लम्सालले सम्मान पत्र ग्रहण गरेका थिए ।

यसैबीच, आन्तरिक राजश्व कार्यालय भरतपुरले गत कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार, कात्तिक महिनामा कूल एक अर्ब ५७ करोड ४३ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । योे रकम लक्ष्यभन्दा १९ प्रतिशत बढी हो । गतवर्षको कात्तिकमा एक अर्ब २० करोड ७२ लाख ७३ हजार राजश्व संकलन भएको थियो । 
कार्यालयले चालु आर्थिक वर्षको कात्तिक (पहिलो चौमासिक) सम्म कूल ६ अर्ब ५८ करोड आठ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरिसकेको छ । यो रकम लक्ष्यभन्दा १२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो चौमासिकमा चार अर्ब ६४ करोड ९७ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस