तस्करी रोक्न खोज्दा तस्करद्धारा ढुंगामुढा, प्रहरीद्धारा हवाई फायर

सफल खबर संवाददाता

शनिबार, १३ भदौ २०७७, १० : ०५
तस्करी रोक्न खोज्दा तस्करद्धारा ढुंगामुढा, प्रहरीद्धारा हवाई फायर

जनकपुर ।  धुनषा जिल्लाको नेपाल–भारत सिमावर्ती क्षेत्रमा शुक्रबार राति प्रहरी र तस्करबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले हवाई फायर समेत गरेको छ ।  विदेह नगरपालिकास्थित दुहबीमा तस्कर र प्रहरी बीच झडप भएको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले नेपालबाट भारत तस्करी गर्न लागेको छहोरा, मरिच लगायतका सामग्री छापामारी गर्न गएको बेला प्रहरी टोलीमाथि तस्करको एक समूहले ढुंगामुढा गरेको थियो ।

तस्करको समुहले पिकअपमा करिब एक सय बोरा मटर भारततर्फ तस्करी भइरहेको सूचना पाए लगत्तै १५ जनाको संख्यामा पुगेको प्रहरी टोलीमाथि तस्करका स्थानीय सहयोगीहरुले सिमावर्ती क्षेत्र दशगजामा पुगेर ढुंगामुढा गर्न थालेपछि बाध्य भएर प्रहरीले हवाइ फायर गर्नुपरेको बताए ।

धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतको कमाण्डमा गएको टोली माथि अचानक प्रहरीमाथि ढुंगामुढा भएपछि केहि समयका थप बलको प्रतिक्षामा रहेका प्रहरीहरु पछाडी हटेका थिए । सोही क्रममा स्थानीय राजीव महासेठले सिमानाका तर्फको दुहबीमा रहेको वस्तीबाट करिब दर्जनौँ भारतीयहरुलाई ल्याएर लुकाई छिपाई राखिएको करिब १ सय बोरा छहारा, ८० बोरा कालो मरिच, २ सय बोरा मटर भारत तर्फ भित्र्याइएको थियो ।

महासेठका सहयोगीहरुले प्रहरीमाथि ढुंगामुढा गरिरहेकै बेला मटरसहित पिकअप नेपाल–भारत सिमानाका हुँदै पार गरेको स्थानीयवासीहरुको भनाई छ । महासेठले अवैधानिकरुपमा नेपालबाट भारत तर्फ रक्सी, मटर, मरिच, सेव लगायतका सामग्रीहरु ठुलो परिमाणमा तस्करी गर्ने गरेको छ भने भारत तर्फबाट खानेतेल, चिनी, मलखाद्य, रजनीगंधा, दुधको पाउडरको पोका लगायतका किराना सामग्री नेपालतर्फ भित्र्याउने गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस