डा. गोविन्द केसीलाई सधैं किन अवरोधै अवरोध ?

पत्रपत्रिकाबाट

शनिबार, १३ भदौ २०७७, ०७ : २८
डा. गोविन्द केसीलाई सधैं किन अवरोधै अवरोध ?

सुर्खेत । स्थानीय प्रशासनको अनुरोधमा सत्याग्रह एक साता पर सारेपछि डा। गोविन्द केसी शुक्रबार बिहानै जुम्ला सदरमुकाम खलंगाबाट गाउँतिर लागे । गुठीचौर गाउँपालिकाको स्वास्थ्यचौकीमा पुगेर स्थानीय स्वास्थ्यकर्मीसँग भलाकुसारी गर्दै थिए । बिहान १०ः३० बजेतिर हातको औंला काटिएकी एक महिला आइन् ।

हाडजोर्नी विशेषज्ञ डा. केसी उनको उपचारमा अघि सरे । तर, स्वास्थ्यचौकी इन्चार्जले उनलाई रोक्दै भने, ‘हजुरलाई उपचार गर्न नदिनू भन्ने प्रमुख प्रशासकीय सरको आदेश छ, हामीलाई अप्ठेरो नपारिदिनुहोला ।’ दुई महिनादेखि कर्णालीका ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा। केसीलाई बिरामीको उपचार गर्न नदिएको यो पहिलो घटना होइन । यसअघि साउन १४ गते डोल्पाको जगदुल्ला गाउँपालिका–६ रिमीमा पनि गाउँपालिका अध्यक्ष नरासिंह रोकाया र वडाध्यक्ष भक्तबहादुर बुढाथोकीले काम गर्न रोकेका थिए ।

त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीको स्वास्थ्य सुधार र स्वयसंसेवाको उद्देश्य बोकेर आएका उनी एकपछि अर्को अवरोध हुन थालेपछि दुस्खी छन् । ‘म यहाँ राजनीति गर्न आएको होइन, आफूले आर्जेको अनुभव र ज्ञान बाँड्न आएको हुँ, अलिकति भए पनि जनताले सेवा पाऊन् भन्ने मेरो सोच हो,’ उनले भने, ‘तर जनताका प्रतिनिधि भन्नेहरू नै जनतालाई सेवा पाउनबाट वञ्चित गरिरहेका छन् ।’ डा. केसीले गाउँमा मात्र होइन, सदरमुकाम खलंगामै समेत अस्पताल गएर सेवा गर्न पाइरहेका छैनन् ।

डा. केसीको पूर्वनिर्धारित सत्याग्रह रोक्न बिहीबार बिहानै जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा र जिल्ला प्रहरी प्रमुख डीएसपी लालबहादुर धामी उनी बसेको होटल रोयल गार्डेनमा पुगे । वार्ताका क्रममा केसीले सत्याग्रह कार्यक्रम एक साता पर सारेपछि प्रजिअ थापा र डीएसपी धामी आ–आफ्नो कार्यालयतिर फर्किए । केसी पनि नजिकैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ९शिक्षण० अस्पतालतिर जान खोजे । तर, होटलको गेटमै रहेको प्रहरीले ‘माथिको आदेश’ भन्दै निस्किन दिएन । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस