बैंकमा पैसाको थुप्रो लाग्यो, व्याजदर घटाउन प्रतिस्पर्धा

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, १६ : ०२
बैंकमा पैसाको थुप्रो लाग्यो, व्याजदर घटाउन प्रतिस्पर्धा

काठमाडौँ । कोरोना भाइरसको असरले यतिबेला लगानी छैन, जसका कारण बैंकमा पैसको थुप्रो लागेको छ । बैंकमा पैसाको थुप्रो लागेपछि यतिबेला बैंकबीच नै ब्याजदर घटाउने प्रतिस्पर्धा चलिरहेको छ ।

अधिकांश बैङ्कले ब्याजदर घटेको जानकारी गराएका छन् ।  चैतमा बन्दाबन्दी भए यता बैङ्किङ प्रणालीमा लगानी योग्य रकम थुप्रिएका कारण बैङ्कहरु कर्जा लगानी गर्न यतिबेला आतुर भएका छन् । गत वर्षसम्म लगानी गर्ने रकम नभएर बैङ्कहरु कर्जा लिन आउनेलाई रित्तो हात फर्काउँथे तर अहिले अवस्था फरक भएको छ ।

मुलुकका आधा जिल्लाहरु लकडाउनमा छन् । काठमाडौँ उपत्यकामा निशेधाज्ञा थप भएको छ ।  बैंकमा कर्जा माग गर्न जानेहरु यतिबेला शून्यजस्तै छन्, जसका कारण बैंकमा पैसाको थुप्रो लागेको छ । यतिबेला सरकारी मात्र होइन निजी बैङ्कहरू पनि ब्याजदर घटाउन कडा प्रतिस्पर्धा चलिरहेको छ । नेपाल बैङ्क लिमिटेडले तीन साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक ग-यो । राष्ट्रिय वाणिज्य बैङ्कले पनि सर्वाधिक कम ब्याजदर कायम गर्ने निर्णय गरेको थियो । 

एनएमबी बैङ्कले पनि ७.९९ प्रतिशतमा घर कर्जा दिने भनेर सूचना नै निकालेको थियो । दुई वर्षको घर कर्जा लिनेले उक्त ब्याज दरमा कर्जा प्राप्त गर्न सक्ने बैंङ्कले जनाएको छ । कर्जा उपभोक्ताका लागि अहिले सहज मात्रै भएको छैन सस्तो, सुलभ र प्रतिस्पर्धी पनि बनेको छ । 

बैङ्किङ क्षेत्रमा अधिक तरलता भएपछि बैङ्कको ब्याजदर सर्वाधिक सस्तो भएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले ब्याजदर विगत चार वर्ष यताकै सस्तो हो । निक्षेप तथा कर्जा दुवैको ब्याजदर घटेको छ । बैङ्कहरुको आधारदर नै अहिले चार वर्ष यताकै न्यून छ ।

 

प्रतिक्रिया दिनुहोस