फुटबलर मेस्सीले बार्सिलोना छोड्न निर्णय लिदैं पठाए पत्र

एजेन्सी

बुधबार, १० भदौ २०७७, ०७ : ५९
फुटबलर मेस्सीले बार्सिलोना छोड्न निर्णय लिदैं पठाए पत्र

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सीले छाड्ने निर्णय लिएका छन् । । उनले त्यसका लागि क्लब समक्ष आग्रह पत्र नै बुझाएका छन् ।  ३३ वर्षका अर्जेन्टाइनी खेलाडी मेस्सीले फ्याक्स मार्फत क्लबलाई मंगलबार पत्र पठाउदैं उनले सम्झौतामा रहेका व्यवस्थाहरुमा काम गरी आफूलाई तत्कालै लागु हुने गरी क्लब छोड्न पाउने व्यवस्था गर्न आग्रह गरेका छन् ।

उनको अनुबन्धमा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाइने उल्लेख छ । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकसँग ८–२ ले पराजित भएपछि उनी क्लब छाड्ने मनसायमा पुगेका थिए । ६ पल्टका बलोन डे’अर विजेता खेलाडी र बार्सिलोना व्यवस्थापनबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन् ।

बार्सिलोना भने अनुबन्ध अनुसार मेसीले बिनामूल्य क्लब तत्काल छाड्न सक्ने सर्त समाप्त भइसकेको मान्छ । बार्सिलोना सन् २०२१ सम्म कायम अनुबन्ध अनुसार मेसीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नु पर्ने सर्त रहेको मान्छ । मेसीको निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्दैछ ।

मेस्सीले गत शुक्रबार क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग भेटघाट गरेका थिए । त्यसबेला नै उनले आफू लामो समय क्लबमा नरहने प्रष्ट पारिसकेका थिए । क्लबको बोर्डसँग राम्रो सम्बन्ध नरहेका मेस्सीले कोम्यानसँग भेटघाटपछि क्लब छाड्ने निर्णय लिएको बुझिएको छ ।

बार्सिलोना अगस्ट १६ मा भएको च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भएको थियो । क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउको राजीनामा आएर चाँडै निर्वाचन गर्ने भएमा मात्रै मेस्सीले आफ्नो निर्णयबारे सोच्न सक्ने जनाइएको छ । तर मेस्सी भने बार्सिलोना छोड्न प्रतिबद्ध रहेको देखिएको छ जुनसुकै अवस्थामा पनि ।

मेस्सीले क्लब छोड्न चाहेको मनसायसहितको पत्र बुझाएको खबर सार्वजनिक भएपछि नाउ क्याम्प बाहिर समर्थकहरु भेला भएर बार्सिलोनाको बोर्डविरुद्ध तथा क्लबका कीर्तिमानी गोलकर्ता मेस्सीको समर्थनमा प्रदर्शन गरेका छन् । अब क्लब र मेस्सीबिच कानूनी लडाईँ सुरु हुने देखिएको छ । मेस्सीको सम्झौतामा जुन १० भन्दा पहिले जानकारी गराएमा स्वतन्त्र मूल्यमा क्लब छोड्ने अधिकार छ ।