विचार

कोरोना संक्रमणका तीन घटना र केही अनुत्तरित प्रश्न

प्रकाश सिग्देल

मंगलबार, ०९ भदौ २०७७, १५ : २५
कोरोना संक्रमणका तीन घटना र केही अनुत्तरित प्रश्न

– प्रकाश सिग्देल

CG Hills

घटना नम्बर एक
गत जेठ २७ गते चितवनको भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ११ भोजाडका १ जना वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भयो । यो कोरोना संक्रमणबाट चितवनमा भएको पहिलो मृत्यु थियो ।

ससुरा बुबालाई सामान्य समस्या भएपछि ती वृद्धका ज्वाईंले म्याजिकमा हालेर नारायणी सामुदायिक अस्पतालमा उपचार गर्न लगे ।  त्यहाँ परीक्षणका क्रममा निमोनिया भएको पाइयो । चिकित्सकले भर्ना गरेर भ्यान्टिलेटरमा राख्नु पर्ने बताएपछि उपचार सुरु भयो । 

उपचारकै क्रममा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि अस्पतालले त्यहाँ राखेर उपचार गर्न मानेन । जेठ २६ गते सरकारी अस्पतालमा जबरजस्ती रिफर गर्यो । ज्वाईं सुरेश गुरुङले ससुरालाई सकीनसकी नारायणी सामुदायिक अस्पतालबाट एम्बुलेन्समा हालेर भरतपुर अस्पताल लगे । आफूले सामान्य सुरक्षा बिधि प्रयोग गरी मास्क, पन्जा र अनुहार छोप्ने फेसगार्ड लगाएर सिरियस अवस्थामा रहनुभएको बुबालाई सकी नसकी बोकेर एम्बुलेन्समा हाल्ने अनि त्यहाँबाट झारेर भरतपुर अस्पतालको आईसियुमा लाने सबै काम गरेको उनले बताए । 

कोरोना देखिएको बिरामी भनेपछि कसैले पनि साथ दिएनन् । ठुलो दारपातका ससुरा बालाई आफैले सकीनसकी बोकेर एम्बुलेन्स चढाउने झार्ने गरेको उनी सम्झन्छन् । सरकारी अस्पताल पुग्नासाथ त्यहाँ पनि जानकारी र तयारी नभएकाले आधा घन्टाभन्दा बढी समय उनी बुबासंगै एम्बुलेन्समै बसिरहे । रोगको पीडाले बुबा छट्पटिँदै जीउ फालिरहेको उनले हेरिरहे । बुबालाई थुम्थुम्याउँदै त्यहीँ बसिरहे । आधा घन्टापछि उनले बुबालाई सरकारी अस्पतालको कोरोना उपचार कक्षमा लगेर भर्ना गरे । उपचारको क्रममा जेठ २७ गते बुबाको मृत्यु भयो । 

ससुराबुबाको मृत्युको पीडासंगै आफैलाई पनि संक्रमण हुने डर त उनको मनमा सायद थियो होला । उनी भरतपुर अस्पतालकै आईसोलेसनमा बसे । एक हप्तापछि परीक्षण गर्दा उनमा कोरोनाको संक्रमण देखिएन । उनी डिस्चार्ज भए । 

कोरोना संक्रमित बिरामी, त्यसमाथि भ्यान्टिलेटरमा रहेको मान्छेलाई भ्यान्टिलेटरबाट बाहिर निकालेर एक्लै अर्को अस्पतालमा सार्नु पर्दा कतिसम्म कष्ट होला ? अनि त्यहाँ कसरी सामाजिक दुरी र सावधानी कायम होला ? त्यो भनिरहनु पर्ने बिषय होइन । 

यदि कोरोना एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भए सिरियस अवस्थामा रहेका ससुराबालाई काखमा बोकेर अस्पताल दगुराउने ज्वाईंलाई सर्थेन होला र ? रोगले च्यापेर जीउ यता र उता टाउको तल र माथि गर्दै छट्पटिएका ससुराबाको आडैमा बसेर थुम्थुम्याउने ती ज्वाईंलाई संक्रमण हुँदैनथ्यो होला र ? प्रश्न अनुत्तरित छ ।

घटना नम्बर दुई

साउन महिनाको २४ गते शनिबार जापानमा बसेका युवाहरुले देवघाट क्षेत्र विकासको आश्रममा रहेका वृद्धवृद्धाको सहयोगका लागि रकम हस्तान्तरण गर्ने र खाना खुवाउने कार्यक्रम थियो । प्रमुख अतिथि थिए देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल । अरु १ दर्जन जति दाताहरु, आश्रमका वृद्धवृद्धाहरु, कर्मचारीहरु, कार्यकारी निर्देशक लगायत ४ दर्जन बढी सहभागी थिए । 

करिब डेढ घन्टा जति लामो कार्यक्रम भयो । देवघाट क्षेत्र विकासका तर्फबाट प्रमुख अतिथिले दाताहरुलाई खादा ओढाएर सम्मान गर्नु भयो । दाताहरुले १ लाख ११ हजारको चेक दिए । लिनेदिने कार्यक्रम भयो । सबैले भाषण चर्कै गरे । अन्तिममा वृद्धवृद्धालाई खाना खुवाएर, खाएर सबै कार्यक्रमबाट बाहिरिए । त्यसको पर्सीपल्ट  समाचार आयो । क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण भनेर । 

म र पत्रकार तुलमान गुरुङ पनि कार्यक्रममा पुगेको, भाषण सुनेर खिचेर आएको । आफूलाई पनि डर लाग्नु स्वाभाविकै भयो । मैले त मास्क लगाएको थिएँ तर मञ्चमा बस्नेहरुले मास्क च्यापुमा लगाएका थिए, नाक र मुख ढाकेका थिएनन् । 

मैले क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेलाई फोन गरेर सोधेँ, के हो अवस्था ? उहाँले भन्नुभयो, लक्षण छैन । हिजो कार्यक्रम भएकाले त्यहाँ सहभागी सबैको पिसिआर गर्दैछौँ भोलि । 

मैले अफिसमा समाचार सम्पादक सूर्यप्रकाश कँडेल दाईसहित अन्य साथीहरु सबैलाई सबै कुरा सुनाएँ । साथीहरुले अब सावधान रहनु, पिसिआर परीक्षण गर्नु भन्नुभयो । मैले भनेँ, म नजिक गएको छैन । म सावधानीपूर्वक बस्छु । यदि देवघाटमा अरु वृद्धवृद्धा र सहभागीमा कोरोना देखियो भने म परीक्षण गर्छु, नत्र गर्दिन । 

घर गएपछि श्रीमतीलाई पनि भनेँ, तिमी केही दिन घरबाहिर नजाऊ । अवस्था यस्तो भयो भनेर बताएँ । उनले पनि हुन्छ भनिन् । यो कुरा मैले पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा र उपाध्यक्ष नारायण अधिकारीलाई पनि बताएँ । भनेँ, केही दिन अरुको रिपोर्ट हेरौँ । पोजेटिभ आयो भने मेरो र तुलमानजीको पनि चेक गरौँला । नत्र अहिलेलाई हतार नगरौँ । अध्यक्ष र उपाध्यक्षले पनि हुन्छ भन्नुभयो । 

म बडो सावधानीपूर्वक घर र अफिस गरेँ । झण्डै एक हप्तापछि खबर आयो, दाताहरुको पनि नेगेटिभ र सहभागीहरु सबैको नेगेटिभ । म पनि ढुक्क भएँ, चेक गर्न गइन । 

अनि मैले सोचेँ, यदि मान्छेले हल्ला गरेजस्तै गरी सजिलै कोरोना सर्ने भए मास्क नै नलगाई एकै मञ्चमा नजिकै बस्ने, भाषण सुन्ने, खादा ओढ्ने ओढाउनेलाई सर्थेन होला र ? तर सरेन किन ? प्रश्न अन्ुत्तरित छ ।

यदि इम्युनिटी पावरले पेलेर सरेर पनि भाइरसले काम नगरेको भनौँ भने पनि रोगी, वृद्धवृद्धादेखि सबैखालका मानिस कार्यक्रममा सहभागी थिए । सबैको रोग प्रतिरोधी क्षमता एउटै हुँदैन पक्कै । यहाँ पनि म चकित परेँ । मलाई लाग्यो कोरोना ठुलो हाउगुजी होइन । सरकारले निर्दिष्ट गरेका सुरक्षा विधि पालना गरे यो रोगबाट डराउनु पर्दैन । 

घटना नम्बर तीन

म संगसंगै अफिसमा एकै टेबुलमा बसेर काम गर्ने प्राविधिक भाइ, जो केही दिनदेखि मसंगै गाडीमा अफिस आवतजावत गर्थे, उनको दाइ बैंकको कर्मचारी । उनको दाइलाई कोरोना संक्रमण भयो । साउनको २८ गते बुधबार रिपोर्ट आयो । दाइले भाइलाई फोन गरेर भने, बाबु मलाई कोरोना पोजिटिभ भयो । म सौराहामा बैंकमा छु । बाईक लिएर आइज । बाईक छोडेर जा । म रजहरमा आईसोलेसनमा जानु पर्ने भयो । 

त्यो खबर भाइलाई आउँदा साँझ ६ बजेको थियो होला । हामी अफिसबाट फर्केर पुलचोक पुगेका थियौँ । म गाडी चलाइरहेको थिएँ । उसले भन्यो, दाइलाई कोरोना भयो । म बाईक लिएर सौराहा जानु पर्यो । आइतबार दाइ सरुवा भएर सौराहा जानु भएको थियो । त्यो दिनसम्म हामी घरमा संगै थियौँ । दुई दिन भयो भेट भएको छैन । मलाई पनि सरेको होला । मलाई सरे हजुरलाई पनि सर्यो, अफिसमा पनि सर्यो । 

संगै काम गर्ने संगै हिँड्ने भाइको दाइलाई नै कोरोना लागेपछि मनमा झन् त्रास भयो । तर अब उपाय त केही थिएन । मैले ती भाइलाई भनेँ, ‘ठिक छ । सर्यो भने सरिहाल्यो । केही भएन । अब डराएर, तर्सेर केही हुँदैन । जे पर्ला त्यही टर्ला ।

मैले गाडीमा हिँड्दा, अफिसमा काम गर्दा कुनै पनि बेला मास्कचाहिँ नखोल्ने भएकाले सर्दैन होला भन्नेमा मचाहिँ अलिकति आशावादी थिएँ । 

पछि घर पुगियो । भाइको बाईक मेरो घरमा थियो । उ बाईक लिएर गयो । घरमा भने झन् त्रास बढ्यो । अफिसमा पनि भनेँ । अफिसमा पनि अलि जोखिम महसुस भएकाले बडो सावधानी अपनाइयो । 

त्यस दिनदेखि भाइको परिवार आईसोलेसनमा बस्यो । दाइले काम गर्ने बैंकका कर्मचारी पनि आइसेलेसनमा बसेछन् । एक सातापछि परिवारका सातै जनाको पिसिआर भएछ । दुई दिनपछि रिपोर्ट आएछ । भाइले फोन गरेर भन्यो, दाई हामी सबैको रिपोर्ट नेगेटिभ आयो । बैंकका कर्मचारीको पनि नेगेटिभ आयो रे । 

म ढुक्क भएँ । अफिसमा पनि भनेँ । अफिसका सबै एकखाले तनावबाट मुक्त भयौँ । रिपोर्ट नेगेटिभ आएको केही दिनपछि भाइ पुनः काममा फर्कियो । हामी अहिले पहिलेभन्दा अझै बढी सावधानी अपनाएर आफ्नो काम गरिरहेका छौँ । 

यदि कोरोना सजिलै सर्ने बाहिर हल्ला चलाएजस्तै हाउगुजी हो भने संगै एउटै घरमा खाने, संगै सुत्नेबस्ने परिवारका सदस्यमा किन देखिएन ? यदि सजिलै सथ्र्यो भने बैंकमा काम गर्ने अरु साथीहरु, नियमित खाजा खाने होटल अरु साथी कसैलाई पनि किन सरेन ? प्रश्न अनुत्तरित नै छ ।

कोरोना संक्रमितको घर भनी ब्यानर टाँस्न घर र टोल खोज्दै जाने, हेर्दैमा पनि कोरोना सर्छ झैँ गरेर कोरोना संक्रमितको उपचार गर्ने अस्पताल र उनीहरु बसेको घर र टोलतिर पनि नहेर्ने, स्वास्थ्यकर्मी देखेपछि टाढैबाट भाग्नेहरुका कारण कोरोना कतै हाउगुजी बनाइएको त हैन ? प्रश्न अनुत्तरित छ । 

कोरोना भाइरस जति बुझ्दै गयो त्यति जटिल र फराकिलो बन्दै गएको छ । वैज्ञानिकले समेत मेलोमेसो पाउन नसकेको यो भाइरसको बारेमा एक दुई केसलाई आधार मानेर यसरी सर्छ, यसरी सर्दैन भनेर बयान गर्नु सूर्यलाई हत्केलाले छेकेर अँध्यारो बनाउन खोजेजस्तो होला । तर पनि हामी हल्लैहल्लाका भरमा यसलाई हाउगुजी बनाएर आफनो आत्मबल थप कमजोर बनाउन नलागौँ । सरकारले निर्देशन गरेका सुरक्षाका विधि पालना गरौँ । त्यसैले नै हामीलाई कोरोनाबाट बचाउँछ । हल्लाले हामीलाई हल्लाउने बाहेक केही गर्दैन । कोरोनाबाट आफू बचौँ, सबैलाई बचाऔँ ।