‘दुई मन्त्रालय टुक्रयाउने सरकारको तयारी’

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १० : १०
‘दुई मन्त्रालय टुक्रयाउने सरकारको तयारी’

काठमाडौं । संघीय सरकारका दुई मन्त्रालय टुक्रयाउने भित्री तयारी शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले अब पूर्नगठन गर्ने मन्त्रिपरिषद्मा पार्टीभित्रका देखा परेका त्रिपक्षिय शक्ति सन्तुलनलाई ब्यवस्थित गर्न र नेताहरुको ब्यवस्थापनका लागि मन्त्रालय टुक्रयाउने योजना बनाएका हुन् । 

संविधानमै २५ भन्दा बढी मन्त्री रहन नपाउने ब्यवस्था गरेको कारण पनि ओलीले मन्त्रालय टुक्रयाएर नेताहरुको ब्यवस्थापन गर्ने नीति अख्तियार गर्न खोजेका हुन् । अबको पूर्नगठनका क्रममा उनले राज्यमन्त्री नराख्ने गरी सबै फुल मन्त्री बनाउने तयारी गरेका हुन् । अहिले उनको नेतृत्वको सरकारमा उनी सहित २० मन्त्री र ३ जना राज्यमन्त्री छन् । दुई जना मन्त्रीहरु डा. युवराज खतिवडा र वसन्त मानन्धरले भने दुई दुई वटा मन्त्रालयको कार्यभार सम्हाल्दै आईरहेका छन् ।

उनले अब राज्यमन्त्री नराख्ने भएपछि अहिले लेखराज भट्टले सम्हाल्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अहिले वर्षमान पुन (अनन्त)ले सम्हाल्दै आएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय टुक्राउन लागेको हो । मन्त्रालय टुक्राएर उनले उद्योग वाणिज्य एउटा र अर्काे आपूर्ति मन्त्रालय बनाउन चाहेका छन् । त्यस्तै उर्जालाई टुक्राएर उर्जा मन्त्रालय एउटा र जलस्रोत तथा सिंचाई मन्त्रालय अर्काे बनाउने तयारी गरेका हुन् । 

त्यसो गर्दा राज्य मन्त्री नराख्दा प्रधानमन्त्री सहित २४ वटा मन्त्रालय हुनेछ । अझ आवश्यक पर्यो भने भूमि ब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालय पनि प्रधानमन्त्रीले टुक्रयाउन सक्नेछन् । तर अहिले त्यसमा भने उनको रुची देखिएको छैन् । नेताहरुको ब्यवस्थापनमा कठिन अवस्था आए त्यसलाई पनि भूमि ब्यवस्था एउटा र अर्काे सहकारी तथा गरिबि निवारण गरेर दुइ वटा मन्त्रालय बनाएर २५ ओटै मन्त्रालयमा विभक्त गर्न सक्ने अनुमान पनि देखा परेको छ । 

यसो गर्दा २५ मन्त्रालयमा पूर्व एमाले तर्फका (ओली सहित वरिष्ठ नेता नेपाल समेत)का नेतालाई ब्यवस्थापन गर्न १० देखि १५ मन्त्रालय र पूर्व माओवादी समुहलाई ९ देखि १० ओटा मन्त्रालयको भागबन्डा लगाएर मनित्रपरिषद् पूर्नगठन गर्ने सम्भावना देखा परेको छ । यसो हुँदा अहिले राज्यमन्त्री रहेका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पद सिधै धरापमा पर्ने देखिन्छ ।

राज्यमन्त्रीबाट मानन्धर फुल मन्त्रीमा उक्लिन सक्ने सम्भावना भएपनि अन्य दुई राज्यमन्त्रीको त्यस्तो सम्भावना देखिन्न् । मन्त्री परिषद् हेरफेर गर्दा कुन मन्त्री फालिने र कुन नेताले मन्त्रीका रुपमा इन्ट्री पाउने भन्ने विषय अझै एक साता सम्म कुर्नुपर्ने हुन सक्छ । नेकपाले स्थायी समिति बैठक समापन गरेर क्याबिनेट हेरफेरको बाटो पक्डिने सम्भावना छ ।

नेकपाको विवाद समाधान कार्यदलले पनि सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने, स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सचिवालयका सदस्यहरूको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डको आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने, मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने सुझाव अध्यक्षद्दयलाई बुझाएको छ । 

नेताहरुका भागवन्डाकै आधारमा मन्त्रिमण्डल हेरफेर हुने देखिएको छ । त्यही भएर पनि अहिले सरकारमा रहेका नेताहरु आफु बाहिरिनु पर्ने हो की भन्ने त्रासमा देखिएका छन भने क्याबिनेट हेरफेर हुने भएपछि मन्त्रीका आकांक्षी नेताहरु निक्कै दौडधुपमा लागिसकेका छन् । 
 

प्रतिक्रिया दिनुहोस