राजधानीमा निषेधाज्ञा : सुनसान छन् सडक

सफल खबर संवाददाता

आइतबार, ०७ भदौ २०७७, १४ : ००
राजधानीमा निषेधाज्ञा : सुनसान छन् सडक

काठमाडौँ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी निषेधाज्ञाको चौथो दिन आइतबार सडकहरु सुनसान देखिएका छन् ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा लगाएको हो । 

अत्यावश्यक बाहेकका सवारी साधन सडकमा देखिएका छैनन् । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहेका छन् ।  मुख्य सडकहरु सुनसान देखिएपनि उपत्यकाका भित्री गल्लीहरुमा भने पसलहरु खुला रहेका छन् ।

दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्री क्षेत्रमा खुला रहेका हुन । प्रशासनले विहान ७ बजेसम्म मात्रै पसल खोल्न भनेपनि त्यसको पालना हुन सकेको छैन । आज ऋषि पञ्चमीको दिन भएकाले विहान बाग्मती, विष्णुमति, मनोहरा लगायतका नदीहरुमा स्नानका लागि जानेहरुको भिड देखिएपनि प्रहरीले बाटोमै रोकेको छ ।

टेकु लगायतमा ऋषेश्वर मन्दिरहरुमा पूजा आराधनाका लागि रोक लगाइएको छ । तर पनि महिलाहरुले मन्दिरको गेटमा नै पूजा गरी फर्किएका छन् । मन्दिरमा पूजा आरधाना गर्न नपाएपछि उपत्यकाका अधिकांश महिलाहरुले घरमै पूजा आराधना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस