विश्वभरि रहेका सिग्देलहरुको तथ्यांक खोज्दै सिग्देल बन्धु प्रतिष्ठान

प्रकाश सिग्देल

शनिबार, ०६ भदौ २०७७, १६ : ३५
विश्वभरि रहेका सिग्देलहरुको तथ्यांक खोज्दै सिग्देल बन्धु प्रतिष्ठान

चितवन । सिग्देल बन्धु प्रतिष्ठानले विश्वभरि रहेका सिग्देलहरुको तथ्यांक संकलनका लागि सफ्टवेयर डिजाइन गरी सफ्टवेयरमार्फत तथ्यांक संकलन थालेको छ । 

प्रतिष्ठानका प्रचार विभाग प्रमुख सुुवास सिग्देलको नेतृत्वमा महासचिव गिरिराज उपाध्याय सिग्देल, काठमाडौं सम्पर्क समितिका अध्यक्ष खेलनाथ सिग्देल र प्राविधिक सुरेश सिग्देलले डिजाईन गरेको सफ्टवेयरलाई केन्द्रीय कमिटिको बैठकमार्फत पारित गराएर यसलाई प्रयोगमा ल्याइएको हो ।

बन्धु एकता र मानव कल्याणमा समर्पित सिग्देल बन्धु प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयले नेपाल, भारत, भुटान, बर्मा, युरोप, अमेरिका, अस्ट्रेलिया लगायत विश्वभरि बसोबास गर्नु हुने आत्रेय गोत्रीय सिग्देल बन्धुहरुको  पहिचान गरी तथ्यांक संकलनका लागि अनलाइन तथ्यांक संकलन फारामको डिजाइन गरी काम गरेको र यो धेरै प्रभावकारी हुने देखिएको प्रतिष्ठानका महासचिव गिरिराज उपाध्यायले बताए ।

यसले  बन्धु  एकता कायम गरी भाईचाराको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद सिग्देलले बताए । नेपालभर र विदेशमा बसोबास गर्ने सिग्देलहरुको वास्तविक घरधुरी संख्या र जनसंख्या कति छ भन्ने हालसम्म यकिन तथ्यांक नभएकोले त्यसको पहिचान गरी रेकर्ड राख्नका लागि सफ्टवेयरमार्फत तथ्यांक संकलन थालिएको र यो सबैले मोबाइलबाटै सजिलै भर्न सक्ने भएकाले सफ्टवेयरमा सोधिएका प्रश्नको सही उत्तर दिएर तथ्यांक संकलनमा सहयोग गर्न अध्यक्ष सिग्देलले आग्रह गरेका छन् ।

हरेक व्यक्तिले आफ्नो मोबाइलबाट सहजै भर्न मिल्ने गरी सफ्टवेयरको डिजाइन भएको र तथ्यांक संकलनका लागि यो सबैभन्दा सजिलो माध्यम भएको प्रचार विभाग प्रमुख सुवास सिग्देलले बताए । विश्वभरि रहेका सिग्देल बन्धुहरुको पहिचानसंगै अधिकारको रक्षाका लागि सबैलाई गोलबद्ध बनाउन अनलाइन तथ्यांक संकलन निकै प्रभावकारी बन्ने प्रतिष्ठानका केन्द्रीय सदस्य प्रकाश सिग्देलले बताए ।  

प्रतिष्ठान सिग्देल बन्धुहरुको हक अधिकारका लागि सशक्त रुपमा लागिरहेको केन्द्रीय अध्यक्ष सिग्देल बताउँछन् । प्रतिष्ठानको केन्द्रीय कार्यालय गैँडाकोट नगरपालिका १ मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस