कोरोनाको हटस्पट बन्ने खतरामा चितवन, दोस्रो वीरगञ्ज बन्न नदिऔँ

सफल खबर संवाददाता

शनिबार, ०६ भदौ २०७७, १५ : ४८
कोरोनाको हटस्पट बन्ने खतरामा चितवन, दोस्रो वीरगञ्ज बन्न नदिऔँ

चितवन । चितवनमा कोरोना संक्रमित हुनेको संख्या दिनकै बढिरहेको छ । अहिलेसम्म चितवनमा ३२३ जना संक्रमित पुगिसकेका छन् । मृत्यु हुनेको संख्या पनि बढेर पाँच पुगिसकेको छ । जसमा तीन जना चितवनकै हुन् भने दुई जनामध्ये एक जना मकवानपुरका र अर्का एक जना कैलालीका हुन् । 

आज चितवनको जुन अवस्था छ, हिजो वीरगञ्जमा त्यही अवस्था थियो । संक्रमित हुनेको संख्या र मृत्युसंख्या अहिलेको चितवनको जस्तो अवस्था थियो, तर एकाएक वीरगञ्जमा संक्रमणमा र मृत्यु हुनेको संख्यामा ब्रेक भयो । वीरगञ्जमा कोरोनाबाट मृत्यु हुने मृत्यु हुनेको संख्या ३५ पुगेको छ । मृत्यु हुनेमा २६ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् । वीरगञ्जमा संक्रमितहरुको संख्या पाँच सय माथि छ । 

आखिरी वीरगञ्जमा किन फैलियो कोरोना ?
पर्सा जिल्लाको वीरगञ्ज कोरोना संक्रमणको ‘हटस्पट’ बनेको विषयले खुब चर्चा पाइरहेको छ । कुनै समय नियन्त्रण उन्मुख रहेको भनिएको वीरगञ्ज लकडाउन खुलेसँगै पुनः कोरोनाको ‘हटस्पट’ बनेको हो । सरकारले लकडाउन गरेको समयमा वीरगञ्जमा संक्रमितको संख्या विस्तारै कम हुँदै गएको थियो । तर लकडाउन खुलेसगै यहाँ भारतबाट श्रमिक, भारतमा रहेका नेपाली र भारतीय नागरिकहरू भित्रन थालेपछि संक्रमण बढ्दै गयो । 

असार अन्तिम साता संक्रमितहरू निको हुँदै घर फर्किन थालेपछि कोभिड अस्पतालमा दुई जना मात्रै संक्रमित बाँकी थिए । तर साउन सुरु भएलगत्तै पर्सामा संक्रमित थपिँदै गएका छन् । दिनहुँ संक्रमित थपिँदै गएपछि समुदायमै संक्रमण फैलिएको भन्दै वीरगञ्जमा साउन १० देखि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ । 

असारको अन्तिममा ३ जनामा मात्र अस्थायी कोभिड अस्पलामा उपचाररत रहेका थिए । साउनबाटै समुदायमा कोरोना संक्रमण देखिन थाल्यो । संघीय सरकारले लकडाउन अन्त्य गरेपछि वीरगञ्जमा संक्रमण थप बढ्न थालेको हो ।

वीरगञ्जका चिकित्सकहरुको अनुसार सरकारले साउन ७ गते लकडाउन अन्त्य गरेको घोषणा गरेपछि भारतीय सीमाबाट पनि प्रवेश खुल्ला भयो । यही मौकाको फाइदा उठाउँदै भारतीय क्षेत्रबाट नागरिक वीरगञ्जको बाटो हुँदै नेपाल प्रवेश गरे। योसँगै व्यापारीहरूको समेत सीमापार आवतजावत हुन थाल्यो । उनीहरूलाई व्यवस्थित गर्ने काम यहाँको स्थानीय सरकारले गर्न सकेन । काठमाडौँले वीरगञ्जमा भुसको आगो सल्केझैँ सल्केको कोरोना भाइरसलाई हेर्नै चाहेन या भ्याएन, जसका कारण आज वीरगञ्ज कोरोनाको हटस्पट बनेको छ ।  

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुुसार विस्तारै समुदायमा स्तरमा पुगेपछि बजारमा मानिसहरू खुल्ला हिँड्दा सबैमा सरेको बताए । सडकमा र किनमेलमा निस्केकाहरू मास्कसमेत नलगाउने परिपाटीले पनि वीरगञ्जमा कोरोना फैलिन मद्दत गरेको छ । 

चितवन वीरगञ्ज बन्न सक्ला ?
यतिबेला चितवनवासीमा एउटा त्रास छाएको छ, चितवन कता दोस्रो वीरगञ्ज बन्ने त होइन, । वीरगञ्ज जस्तो नहोस् चितवन भन्ने कामना गरिरहेका छन् यतिबेला चितवनवासीले । तर कोरोना संक्रमितको संख्या भुसको आगोझैँ फैलिरहेको छ चितवनमा ।  समुदायमा धमाधम संक्रमित देखिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले वीरगञ्ज र चितवनमा फरक रहेको बताउँछन् । उनी भन्छन्, ‘वीरगञ्ज भारतसँग सीधै सीमा जोडिएको जिल्ला हो, लकडाउन खुलेसँगै भारत नेपाल आवतजावत खुला भयो । जसका कारण संक्रमण दर ह्वात्तै बढ्यो ।’ नागरिकको बौद्धिक स्तर पनि वीरगञ्जमा कम देखिएको त्यहाँका चिकित्सकहरु बताउँछन् । लकडाउन खुलेसँगै सुरक्षित यात्रा वीरगञ्जमा हुन सकेन । 

प्रमुख तिवारी चितवन र वीरगञ्जमा धेरै नै फरक रहेको बताउँछन् । उनका अनुसार बौद्धिक चेतनादेखि सुरक्षित हुने अवस्थासम्मलाई हेर्दा चितवन अगाडि छ । उनका अनुसार जसका कारण वीरगञ्जकै अवस्था यहाँ आउला भन्ने त देखिदैन, तर हामी सुरक्षित भएनौँ भने वीरगञ्जकै नियति नदोहोरिएला भन्न पनि सक्दैनौँ ।’

ढिलो भयो गृहकार्य 
चितवनमा कोरोना संक्रमित फैलिरहँदा यहाँका हरेक गृहकार्य ढिलो भइरहेको छ । जिल्लामा निषेधाज्ञा लगाउन पनि ढिला भइसकेको थियो । जसका कारण संक्रमण फैलिएको बुझाइ छ । ढिलो भए पनि चितवनमा निशेधाज्ञा जारी रहेको छ । वीरगञ्जमा निशेधाज्ञा ढिलो गरिँदाको नियति आज देखिँदैछ । 

जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि बल्ल यहाँका स्थानीय तह तातेका छन् । आइसोलेसन शैया बनाउन सुरसार गर्दैछन् । के गरिसकँे, दैलो पनि देखेँजस्तो नहोस् । तत्काल आइसोलेसन बनाऊँ, आइसियू कक्ष थपौँ, भेन्टिलेटर बढाउँ । विज्ञहरुको सल्लाहअनुसार छिटो कोरोनासँग लड्ने गृहकार्य बनाआँै, चितवनलाई दोस्रो वीरगञ्ज हुनबाट जोगाऔँ ।

प्रतिक्रिया दिनुहोस