ओली–प्रचण्ड भेट : कार्यदल गठनपछिका नियुक्तिहरु बदर गर्न दबाब

सफल खबर संवाददाता

विहीबार, ०४ भदौ २०७७, १७ : १२
ओली–प्रचण्ड भेट : कार्यदल गठनपछिका नियुक्तिहरु बदर गर्न दबाब

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार पुनः भेटघाट भएको छ । भेटघाटको क्रममा अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्री ओलीलाई कार्यदल गठनपछिका नियुक्तिहरु बदर गर्न दबाब दिएको स्रोतको भनाइ छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट भएको बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले सहमतिनजिक पुगिरहेको समयमा एकतर्फी नियुक्ति र सिफारिस गरिँदा राम्रो सन्देश नगएको बताएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले कार्यदल गठनअघि नै प्रक्रियामा रहेकाले यसलाई पूर्णतामात्र दिएको बताए । 

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो । सोही नियुक्तिलाई लिएर यतिबेला सरकारको आलोचना भइरहेको छ । भण्डारीको नियुक्ति अदालतले नै बदर गरिदिइसकेको छ । 

यसबाहेक थुप्रै नियुक्तिका निर्णयहरु एकतर्फी भएकोले सच्याउन प्रचण्डले ओलीलाई आग्रह गरेका थिए ।  भेटमा प्रचण्डले नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदल अघि बढ्न नसक्ने चेतावनीसमेत दिएको स्रोतको भनाइ छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नियुक्ति खारेज गर्न माग गर्दै प्रचण्डमार्फत दबाब बढाएका थिए । 

प्रतिक्रिया दिनुहोस