भरतपुर महानगर प्रमुख दाहालद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, १६ : ०४
भरतपुर महानगर प्रमुख दाहालद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् ।

महानगर प्रमुख दाहालले आज एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘भरतपुर महानगरवासी सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, आपसी एकता, पारिवारिक सद्भाव र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीककोरूपमा रहेको यस पर्वमा नेपाली महिलाहरूले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि पूजा आराधना र पारिवारिक भेटघाट गर्ने तथा दर खाने प्रचलन रहेको छ । नेपाली मौलिक साँस्कृतिक पर्वले नेपालीहरूलाई एकताको सुत्रमा आबद्ध गर्दै सामाजिक सद्भाव कायम गर्नुका साथै एकआपसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएको छ ।

कोरोना (कोभिड–१९) महामारी विश्वव्यापी रूपमा झनझन वृद्धि हुने क्रममा रहेको छ । महानगरपालिका क्षेत्रमा पनि यसको संक्रमण दर वृद्धि हुँदै गएको सन्दर्भमा सामूहिक खानपिनको कार्यक्रम आयोजना नगर्न, नित्य कर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगर्ने प्रमुख दाहालले अपिल गरेकी छिन् ।

‘अहिले मानवीय स्वास्थ्यको सवाल महत्वपूर्ण छ । महामारीबाट जोगाउन सकिएमात्रै पछि आउने चाडवाडहरू मनाउन पाइन्छ । यही यथार्थतालाई हृदयगम गर्दै आ-आफ्नै घरमा बसेर, मास्क, स्यानिटाइजरको प्रयोग र भौतिक दुरी कायम गरी सुरक्षित रूपमा यसपटकको तीज पर्व मनाउनुहुन विनम्र अनुरोध गर्दछु’ प्रमुख दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस