राजनितिक नियुक्तिमा प्रधानमन्त्री ओलीको प्राथमिकता : ‘कि गृह जिल्ला झापाका कि आफ्नो महिमागान गर्ने व्यक्ति’ (सूचिसहित)

राजनीतिक नियुक्तिमा कि गृहजिल्ला कि आफनो महिमागान र अन्य नेताको खोइरो खन्नेलाई मात्र प्राथमिकता दिदै प्रधानमन्त्री केपी ओलीले कम्युनिष्ट सरकारकै बदनाम गराईरहेका छन्

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, १२ : ५४
राजनितिक नियुक्तिमा प्रधानमन्त्री ओलीको प्राथमिकता : ‘कि गृह जिल्ला झापाका कि आफ्नो महिमागान गर्ने व्यक्ति’ (सूचिसहित)

फाइल फोटो

काठमाडौं । सरकारले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका पत्रकार किशोर श्रेष्ठलाई हटाई दुर्गा भण्डारीलाई जिम्मेवारी दिइएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  श्रेष्ठ हुन् या भण्डारी चासोको विषय हामीलाई होइन् । तर प्रधानमन्त्री केपी ओलीले राजनीतिक नियुक्तिमा कसरी आफनो गृहजिल्ला, कसरी आफनो महिमागान र ओलीइतरका आफ्नै पार्टीका नेताहरुको खोइरो खन्ने पात्रहरुलाई छानीछानी नियुक्ति दिन्छन भन्ने मात्र हाम्रो सरोकारको विषय हो ।

ओलीले अहिलेसम्म झण्डै दुई दर्जन आसपासका मानिसहरुलाई मन्त्री देखि जिएमसम्मका नियुक्तिहरु दिलाईरहेकै छन् । प्रेस काउन्सिलमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी भण्डारी पनि झापाकी हुन् । पोखरामा विवाह गरेकी उनलाई अघिल्लो दिन मन्त्रीस्तरीय निर्णयका आधारमा सदस्यमा नियुक्त गर्दै भोलिपल्टै क्याबिनेट बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको हो । 

प्रेस काउन्सिल ऐन ०४८ को दफा ८(३) र (६) ले अध्यक्षको अनुपस्थितीमा काउन्सिल बोर्डलाई आफुमध्यबाट कार्यवाहक अध्यक्ष छान्ने अधिकार दिएको छ । अध्यक्ष भवानी बरालको नियुक्तिका विषयमा सर्वाेच्चमा मुद्दा थाती रहेकोले काउन्सिलले आफुमध्येबाटै श्रेष्ठलाई यस अगाडी कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको थियो ।  तर क्याबिनेटले उक्त ऐनको दफा संसोधन गर्ने निर्णय गदै भण्डारीलाई अघिल्लो दिन सदस्य र भोलिपल्टै कार्यवाहक अध्यक्षको जिम्मा दिएका हुन् । यस सम्बन्धमा काउन्सिलको बोर्डले सर्वाेच्चमा गै¥ह कानुनी नियुक्ति भएको भन्दै रिट नै दायर गरिसकेको छ । 

यस विषयमा जे गर्ला अदालतले नै गर्ला, यसतर्फ पनि हाम्रो चासो होइन् । भण्डारीका विषयमा यति चासो भने हो, की उनले गत असार १८ मा ओली निकट एक अनलाइनमा लेख लेख्दै प्रधानमन्त्री ओलीको महिमागान र पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरुको बदनाम गर्ने गरी लेख लेखेकी थिइन् । ओलीलाई कथित राष्ट्रवादी र अन्य नेताहरुलाई कथित भारतीय गोटीमा चल्ने नेताका रुपमा चिनाउने प्रयास उनले लेखमा गरेकी थिइन् ।  यही महिमागानका कारण उनको दुई दिन बिराएर दुई महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको अहिले नेकपाभित्र चर्चा भने छ । 

जनसंख्याका हिसाबले नेपालको कुल २ प्रतिशत मात्र झापाली छन् । तर प्रधानमन्त्री केपी ओलीले गरेको नियुक्ति केलाउदा २५ प्रतिशत झापालीले पाएका छन् । अझ त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रकाले मात्र पाएका छन् । आफ्नो क्षेत्रको वा जिल्लाको भए उनले नेकपा बाहेकलाई पनि वरु नियुक्ति दिलाएका छन् । तर आफ्नै पार्टी र पार्टी नेताहरुसँग कुनै पनि नियुक्तिमा आपसी सल्लाह र संस्थागत निर्णय भने गराएका छैनन् । नेकपा विवादको एउटा भित्री पाटो यो पनि हो ।

यी हुन्, ओलीले नियुक्त गरेका झापाली 

१) डा. युवराज खतिवडा, राष्टिय सभा सदस्य हुँदै अर्थमन्त्री । 
झापाको गौरादह नगरपालिका वार्ड नं. ९ बैगुनधुराका स्थायी बासिन्दा हन् डा युवराज खतिवडा । नेपाल राष्ट्र बैंकको डिपुटी गभर्नर नहुँदै राष्ट्र बैंकको गभर्नर हुन पाउने अर्का भाग्यमानी पनि हुन् उनी । ओलीको निर्वाचन क्षेत्रका स्थायी बासिन्दा हुनुको नाताले खतिवडाले गभर्नरको पाँचबर्षे कार्यकाल समाप्त भए पनि निवृत्त भएर बस्नु परेन् । ओलीको कृपाले उनी ओली नेतृत्वको सरकारमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्ने अवसर पनि पाए ।

उनलाई ओली प्रधानमन्त्रीमा नियुक्त भएको पर्सीपल्टै राष्ट्रिय सभाको सांसद बनाउने निर्णय लिएका थिए । त्यसपछि उनलाई पार्टीभित्रै दिग्ग्ज नेताहरु रहदा रहदै पनि ओलीले अर्थमन्त्री बनाए । अहिलेसम्म उनी अर्थमन्त्रीमा कायम छन् । तर विगत ६ मनिायता भने उनी गैह सांसदका रुपमा मन्त्री छन् ।  

२) प्रतिनिधिसभा उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे, कानुन नयाय तथा संसदीय मामिलामन्त्री ।
प्रतिनिधीसभाको उपसभामुख सम्मको जिम्मेवारी निर्वाह ओली कै छत्रछाँयामा बन्न सफल भएकी डा. तुम्बाहाम्फेको बाल्यकाल, माध्यमिक तहसम्मको पढाई माइतीघर झापाको गौरादहमै भयो । गौरादहबाटै राजनीतिक पृष्ठभूमि बनाएकी तुम्बाहाम्फे तत्कालीन एमालेबाट समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा चयन भएपछि उपसभामुख बन्ने अवसर पाइन् । अहिले पनि उनी कानुन मन्त्री छिन् । उनको राजनीतिमा देखिएको यो फड्को पनि ओलीकै कारण बनेको हो । 

३) अग्नीप्रसाद खरेल, महान्यायधिवक्ता । 
झापा गौरादहका खरेल अहिले महान्यायधिवक्ता छन् । केपी ओलीकै कृपाका कारण २०६३ सालमा पुनस्र्थापित प्रतिनिधिसभाको सदस्य बन्ने अवसर पनि उनले पाएका थिए ।  २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएका खरेल दोहोरिएर २०७० सालको संविधानसभामा मन्त्रिपरिषद्को सिफारिसमा सांसद हुन पाउने तत्कालिन एमालेका एक मात्र भाग्यमानि नेता ठहरिए ।

उनै भाग्यमानी खरेल एमालेका सारा सांसदलाई उछिन्दै संसदीय दलको प्रमुख सचेतक भए । २०७२ सालमा केपी ओली नेतृत्वमा सरकार गठन हुनासाथ खरेल कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बन्न सफल भए । कसैलाई भने खातमाथि खात कसैलाई भने पुर्पुरोमा हात भने झैं एकै व्यक्तिलाई दोहोर्याएर समानुपातिकमा सांसद नबनाउने तत्कालिन एमालेले निर्णय गरेपछि खरेल २०७२ सालको प्रदेश र प्रतिनिधिसभा कतै पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेनन् । कसै गरी पनि सांसद बन्न अवसर नपाएका खरेललाई अन्तत ओलीको कृपाबाट प्रधानमन्त्रीले महान्यायधिवक्ता बनाए ।

४) विष्णु प्रसाई, वाग्मती प्रदेशका प्रदेश प्रमुख ।
गत स्थानीय चुनावमा मेयरमा पराजित झापाली नेता विष्णु प्रसाईलाई ३ नम्बर प्रदेशको प्रमुख प्रधानमन्त्री ओलीले बनाएका छन् ।  झापाको धाइजनस्थित सम्पन्न परिवारमा हुर्किएका हुन् प्रसाई ।  वि.सं. ०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएपछि प्रसाईंले आफूमाथि अन्तर्घात गरेको भन्दै सांसद रविन कोइरालामाथि मतगणनास्थलमै झम्टिएका थिए ।

उनलाई ओली सरकारले अघिल्लो शेरबहादुर देउवा सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई बिदाई गर्दै नयाँ नियुक्ति लिने क्रममा वाग्मती प्रदेशको प्रदेश प्रमुखका रुपमा नियुक्त गरेका हुन् । झापामा उनी प्रखर ओली भक्त नेताका रुपमा चिनिन्छन् । 

५) हिम्मत कार्की, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री । 
झापाको गौरादह नगरपालिकाका स्थायी बासिन्दा कार्की एमाले अखिलको महासचिव हुँदै अध्यक्ष हुन पाउने तत्कालिन एमालेका कार्यकर्ता हुन् । उनलाई प्रदेशसभाको सदस्यमा उम्मेदवार मात्र बनाइएन कि एक नम्वर प्रदेशको गृह मन्त्री समेत बनाइयो । ओली निकट नेताका रुपमा चिनिएका उनलाई ओलीले प्रदेश सभामा राखेर पनि न्याय दिलाएका नेता हुन् । 

६) होमप्रसाद गौतम, साझा प्रकाशनको महाप्रबन्धक ।
उनी प्रकाशन क्षेत्रको कुनै अनुभव नभएका प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका राजनीतिक एवं सामाजिक कार्यकर्ता हुन् । ओलीको निर्वाचन क्षेत्र शिवसतासीधाम नगरपालिकाका स्थायी बासिन्दा गौतम यसअघि भने धरमपुर गाउँ विकास समितिका अध्यक्ष थिए । स्थानीय तहको राजनीतिमा सक्रिय उनले गएको संघीय संसद्को निर्वाचनमा ओलीको निर्वाचनमा क्षेत्रमा निर्वाचन संयोजकसमेत भएर काम गरेका थिए । उनलाई ओलीले साझा प्रकाशनको महाप्रवन्धक नियुक्त गरेका छन् ।  

७) मदन खरेल, नेपाल वायुसेवा निगमको महाप्रबन्धक ।
प्रधानमन्त्री ओलीले नेपाल वायु सेवा निगममा सुगतरत्न कांसाकार हुदाहँदै मदन खरेललाई महापबवन्धकका रुपमा नियुक्ति दिए । निगमका महाप्रबन्धक खरेल वायुसेवा निगमका लागि सक्षम थिएनन् । तर ओलीले नियुक्ति दिएपनि आफ्नै असक्षमता प्रदर्शन गर्दै अहिले उनी निगमबाट बहिर्गमन भईसकेका छन् । उनी पनि झापाली थिए । अहिले हटेपनि ओलीले गृहजिल्ला झापा भएकै कारण ओलीले खरेललाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मा दिएका थिए । तर उनी अहिले छैनन् ।  

८) कुमार रेग्मी, सर्वोच्च अदालतको न्यायाधीश ।
काँग्रेस पृष्ठभूमिका सर्वाेच्च अदालतका न्यायधिस नियुक्ति पाएका कुमार रेग्मी गौरादहका स्थायी बासिन्दा हुन् । ओली नेतृत्वको सरकारकै पालामा गौरादहका अग्नि खरेल कानुनमन्त्री भएका बेला न्यायपरिषद्को सिफारिसमा उनी सर्वोच्चको न्यायाधीश नियुक्त भए । नियुक्तिअघि अधिवक्ता रेग्मी कांग्रेस महासमिति सदस्य थिए । तर, अरु सबै पदमा प्रमुख प्रतिपक्षलाई बाइपास गरेका ओलीले रेग्मीलाई न्यायधीश बनाउन कांग्रेसलाई एउटा कोटा दिए । उनले भागवन्डामा प्रतिपक्षलाई समेट्न पर्छ भन्ने कुराले भन्दा पनि गृहजिल्ला झापालाी भएकै कारण रेग्मीलाई सर्वाेच्चमा नियुक्ति पाएका हुन् । 

९) नविनकुमार घिमिरे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त ।
सम्वैधानिक अंगका रुपमा रहेको अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे पनि ओलीले नियुक्त गरेका प्रमुख आयुक्त हन् । हुन त उनको पदावधी अब यही महिनाबाट सकिदैछ । तर उनलाई आयुक्तबाट प्रमुख आयुक्त बनाउन ओलीले गृहजिल्ला झापा भएकै कारण बनाएका हुन् ।

१०) डा. धर्मकान्त बाँस्कोटा, त्रिभुवन विश्वविद्यालयको उपकुलपति ।  
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा यसै साता मात्र नियुक्त भएका डा. धर्मकान्त बाँस्कोटा गौरादहका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको निजी चिकित्सकको अवसरमा पाएका बाँस्कोटाले मेडिकल काउन्सिलको अध्यक्षको पदावधि सकिएलगत्तै उपकुलपति हुने अवसर पाएका हुन् । ओलीको सिधा ठाडो प्रस्तावमा बाँस्कोटा उपकुलपति बन्न पाएका हन् । 

११) गोपाल खनाल, गोरखापत्र संस्थानको सल्लाहकार सम्पादक ।
गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा नियुक्त गोपाल खनाल गौरादहको महारानीझोडका हुन् । उनले ओली नेतृत्वको अघिल्लो सरकारमा प्रधानमन्त्रीको परराष्ट्र विज्ञ बन्ने अवसर समेत पाए । ओलीको गृहजिल्लाकै रहेका कारण पनि उनले पटक पटक ओलीको तर्फबाट नियुक्तिमा बक्सिस पाईरहेका छन् । 

१२) डा. भेषराज अधिकारी, राष्ट्रपतिका  प्रमुख स्वकीय सचिव ।
ओलीले आफ्नै गृहजिल्लाका भएका कारण डा. अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकिय सचिवमा नियुक्ती दिलाएका हुन् । अधिकारी प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ को कमल गाउँपालिकाका हुन् । 

१३) इन्द्र भण्डारी,  प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव ।
प्रधानमन्त्री केपी ओलीले आफनो सचिवालयमा पनि झापाका मानिसहरुलाई नै प्राथमिकता दिएका छन् । त्यसैमध्येका एक पात्र हुन् ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी । उनी झापा दमककै स्थायी बासिन्दा हुन् । 

१४) डा. चन्द्रमणि अधिकारी, निर्दैशक, शहीद गंगालाल राष्ट्रिय हद्यरोग केन्द्र ।
झापाका अधिकारीलाई शहीद गंगालाल राष्ट्रिय हद्यरोग केन्द्रको निर्देशकका रुपमा नियुक्ति दिलाईएको छ । 

यसवाहेक अन्य झण्डै एक दर्जन ले पनि नियुक्ति ओली सरकारबाट पाएका छन् । झापा बाहिरबाट नियुक्ति पाउने पनि विवादित 

प्रधानमन्त्री ओलीका राजनीतिक नियुक्तिहरु विवादमुक्त छैनन् । उनले नियुक्ति गरेका ब्यक्तिहरु कि बिचौलिया छन, की ओलीको गुणगान गाउने, प्रचण्ड, माधव नेपालहरुको चर्काे आलोचना गर्नेहरु छन् । जसकाकारण उनले गरेका नियुक्तीहरु विवादित पनि छन् । हालै उनले लगानी बोर्डको सिइओमा नियुक्त गरेका शुसिल भट्ट त्यस्तै मध्येका एक विवादित पात्र हुन् ।

कालोसूचिमा रहेका भट्टलाई राष्ट्रिय योजना आयोगको सदस्य ओली नेतृत्वको सरकारले नै गरेका थिए । उनलाई ओलीले लगानी बोर्डको जिम्मा लगाउदा उनी जतिको सक्षम ब्यक्ति नै नभएको भन्दै आलोचना गर्नेले पूर्वाग्रही भएर आलोचनामा समय खर्चेको भन्दै बचाउ गरेका थिए ।  भट्ट दाजुभाई नेकपाको आन्तरिक राजनीतिमा ओलीको सरकार टिकाउन बिचौलियाको भूमिकामा थिए । साम, दाम दण्ड भेद सबै प्रयोग गर्ने र आफु अनुकुलको निर्णय गराउनका लागि भटट दाजुभाई माहिर मानिन्छन् । 

त्यस्तै ओलीले रेल्वे कम्पनीको महाप्रबन्धकमा गुरु प्रसाद भटटराईलाई नियुक्त गरेका छन् । उनी सामाजिक सन्जालमै प्रचण्ड प्रति असामाजिक टिप्पणी गर्ने मध्येका एक पात्र हुन् । उपत्यका शहरी विकासको अध्यक्ष पाउने कृष्ण सापकोटा पनि विवादित पृष्ठभूमिका छन् । यी दुवै पात्र प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुलाई चर्काे आलोचना गर्ने पात्र हुन् । उनीहरुलाई पनि माधव प्रचण्डको विरोध र ओलीको महिमागान गाएकै आधारमा ओली सरकारले राजनीतिक नियुक्ति दिलाएको छ । 

त्यस्तै हिजो मात्रै क्याबिनेटबाट प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी दुर्गा भण्डारी जस्तै युवा तथा साना ब्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा कल्याण रोकालाई नियुक्त गरेको छ । रोका पनि गाली पण्डित हुन् । ओलीको बचाउ र अन्य नेताहरुको गालीमा उनी पनि उत्तिकै माहिर छन् ।  मदन खरेललाई नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष नियुक्ति गर्दा पनि ओली विवादित बने । भलै, अहिले उनले पद छोडिसकेका छन् ।  दिगम्बर झा (दूरसञ्चार प्राधिकरण, अध्यक्ष) देउवा सरकारले नियुक्त गरेका झालाई प्रधानमन्त्री ओलीले नै काम नगर्नु भनेर निर्देशन दिएका थिए ।

त्यस लगत्तै उनलाई हटाइएपछि उनी चुप लागेर बसे तर पुनः उनैलाई ओलीले नियुक्ति दिलाए । यसले पार्टीमा आन्तरिक विवादको रुप लियो । उनको नियुक्ती खारेजीको माग सहित २१ जना केन्द्रीय सदस्यले पार्टी केन्द्रीय कार्यालयमा सामुहिक निवेदन नै दिए । अन्तत झालाई ओलीले राजीनामा दिन आग्रह्र गरेपछि झा आफैले छोडिदिएको जस्तो गरी राजीनामा दिन बाध्य बनाउनु परेको थियो । त्यसबेला झा नियुक्तिमा मोटो पैसाको चलखेल भएको टिप्पणी अझै पनि नेकपाभित्र हुन्छ । 

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यलाई नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजक बनाउने काम पनि सरकारले गर्यो । कम्युनिष्ट विचारसंग कुनै साइनो नभएका वैद्य कसरी नियुक्ति पाए भन्ने नेकपाका नेताहरुलाई नै मेसो छैन् । यो भ्रमण वर्ष पनि कोरोनाको प्रभावले त्यक्तिकै तुहिन पुग्यो । लुम्बिनी विकास कोषमा अवधेशकुमार त्रिपाठी लाई नियुक्ति दिलाउने काम ओलीले गरे ।

लुम्बिनी विकास कोषमा बौद्ध मार्गी नै नभएको र पार्टी भित्र कुनै योग्य नभएको जस्तो गरेर प्रधानमन्त्रीले नियुक्ति गरेको भन्दै नेकपामा एक नेताले तीब्र असन्तुष्टी जनाएका छन् । यी त केही प्रतिनिधी उदाहरण मात्र हु्न् । ओलीले यस्तै विवादित पात्र र प्रवृतिका ब्यक्तिलाई नियुक्ति दिलाएर आफ्नो मात्र होइन, कम्युनिष्ट सरकारकै समेत वदनाम गराईरहेका छन् । 

प्रतिक्रिया दिनुहोस