भन्सार कार्यालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, १४ : ४५
भन्सार कार्यालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

सांकेतिक तस्विर

विराटनगर । विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको  प्रदेश १ जनस्वास्थ्य प्रयोगशाला विराटनगरले जनाएको छ । कार्यालयका अनुसार उनीहरुको रिपोर्ट आइतबार पोजिटिभ आएको हो ।

केही कर्मचारीमा संक्रमण देखिएपनि भन्सारको काम नरोकिने कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलले जानकारी दिइन् ।

केहीदिन अघि कर्मचारीमा ज्वरो तथा रुघाको समस्या देखिएपछि गत बिहीबार उनीहरुको स्बाब नमूना संकलन गरिएको थियो । २० जना कर्मचारीको स्वाब संकलन गरिएको र तीमध्ये चार जना पुरुष कर्मचारीमा संक्रमण देखिएको हो ।

उनीहरु २८ देखि ५१ वर्ष उमेर समूहका रहेकाछन् । कार्यालयको क्वाटरमा बसोबास गर्दै आएका उनीहरु चारै जना अहिले होम आइसोलेसनमा रहेका छन् ।

सूचना अधिकारी पौडेलले कर्मचारीमा संक्रमण देखिएपछि हाल आवश्यक सुरक्षा अपनाएर कामलाई निरन्तरता दिइएको जानकारी दिइन्।

हाल कार्यालयमा कार्यरत थप ११ जनाको पीसीआर नमूना संकलन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस