चितवनको ६ पालिकाहरुमा निषेधाज्ञा, घर बाहिर निस्कन पनि रोक

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, १६ : २६
चितवनको ६ पालिकाहरुमा निषेधाज्ञा, घर बाहिर निस्कन पनि रोक

चितवन । चितवनमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । संक्रमितको संख्या बढ्न थालेपछि यहाँका ६ पालिकाहरुमा निषेधाज्ञा जारी भएको छ ।

भरतपुर महानगरमा यसअघि नै  सात दिनको लागि पूर्ण रुपमा निषेधाज्ञा गरिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर महानगरसहित रत्ननगर, खैरहनी, कालिका, राप्ती र इच्छाकामनामा निषेधाज्ञा जारी भएको छ । 

महानगरमा बिपद व्यवस्थापन समितिको आकस्मिक बैठकले एक हप्ता पूर्ण रुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । पूर्वीचितवनका चार पालिकाहरुको आजको बैठकले अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पूर्वी चितवनका चार पालिकाहरुमा आज राति १२ बजेबाट निषेधात्रा सुरु हुनेछ । महानगर प्रमुख रेनु दाहालका अनुसार कोरोनाको संक्रमण नियन्त्रण, प्रभावकारी उपचार, व्यवस्थापनका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय सूचना जारी गरी निषेधाज्ञाको समयमा अत्यावश्यक सामग्री खरिद गर्नको लागि उपभोक्ताहरुलाई बिहान ५ देखि ८ आठ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्ममात्र समय दिइएको जनाएको छ ।

लामो दुरीका मालबहाक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शवबाहन, तरकारी, फलफूल तथा दूध ढुवानीको लागि प्रयोग भएका सवारी साधन पशुपक्षीको दाना बोक्ने साधन, खानेपानी, इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने साधनबाहेक सबै प्रकारका सवारी साधन चलाउन रोक लगाइएको जनाइएको छ । महानगरको अपिलमा दुई पांग्रे सवारी साधनसमेत चलाउन रोक लगाइएको छ । 

आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधीपसलबाहेक सम्पूर्ण व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य सबै कार्यालयहरु बन्द हुनेछन् । बैक वित्तीय संघसंस्थाहरु, सहकारीहरु, जनसम्पर्क हुने नियमित सेवाहरु पनि बन्द रहनेछन् । 

यस्तै जिल्ला प्रशासन कार्यालयले पनि विज्ञप्ति जारी गरी निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई कारबाही गरिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस