ओली र प्रचण्डद्धारा गठित कार्यदलको वैधानिकता माथि किन प्रश्न उठ्यो ?

सचिवालयकै सदस्यले प्रश्न उठाएपछि अनुमोदन गराउने तयारी

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, ०९ : २९
ओली र प्रचण्डद्धारा गठित कार्यदलको वैधानिकता माथि किन प्रश्न उठ्यो ?

काठमाडौं । सत्तासिन दल नेकपाले शुक्रवार गठन गरेको कार्यदलको वैधानिकतामा सचिवालयकै सदस्यले प्रश्न उठाएपछि त्यसलाई पार्टी कमिटि बैठकवाटै अनुमोदन गराउने तयारी भएको छ ।  कार्यदल गठनमा विमति नरहेपनि त्यस्तो कार्यदल गठन पार्टी कमिटि बैठकबाट औपचारिक निर्णयका आधारमा गर्नुपर्ने माग वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले उठाएपछि नेकपामा सचिवालय बैठक बोलाउने तयारी भएको छ । 

शुक्रवार नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेका थिए । कार्यदलले हिजो शनिवारबाटै काम शुरु गरिसकेका छन् । शनिबार नेपाल, खनाल र श्रेष्ठले अध्यक्ष प्रचण्डलाई भेटी गठन प्रक्रिया नमिलेको विषय उठाएका थिए । 

दुई अध्यक्षको सहमतिमा मात्र कार्यदल गठन गरेर काम गर्नु वैधानिक नहुने र भोलि कार्यदलले बुझाएको रिपोर्टमा कुनै नेताहरुले नमान्ने अवस्था आए त्यसले मान्यता पाउने की नपाउने भन्दै सचिवालयका तीन नेताले तत्काल सचिवालय बैठक बोलाएर नमिलेको प्रक्रिया मिलाउन प्रचण्डसँग आग्रह गरेका हन् ।  पार्टी कमिटीको बैठक चलिरहेका बेला कार्यदलको आवश्यकता किन प¥यो ? कार्यदल नै बनाउने हो भने ठूलो दायरामा छलफल गरेर बनाउन सकिन्थ्यो । कार्यदल नै बनाउदा पनि दुई अध्यक्षले मात्र सहमतिमा बनाउनुभन्दा सचिवालय बैठक राखेर प्रष्ट कार्यदेश (टिओआर) सहित बनाएको भए राम्रो हुन्थ्यो, तर त्यसो किन हुन सकेन ? नेताहरुले प्रचण्डसँग प्रश्न गरेका थिए । 

दुई दिन प्रधानमन्त्री ओलीसँग प्रचण्डले निरन्तर गरेको छलफलको ब्रिफिङ पनि सुन्न र कार्यदल गठनको प्रक्रिया नमिलेको बताउन प्रचण्ड निवास पुगेका नेताहरुले सचिवालयमार्फत पहिले कार्यदललाई वैधानिकता दिन र त्यसपछि मात्र कार्यदललाई काम थाल्न निर्देशन दिनुपर्ने धारणा राखेका थिए । वरिष्ठ नेता झलनाथ खनालले सफलखबरसँग टेलिफोनमा भने, कुनै पनि कार्यदलहरु पार्टीका कमिटिले बनाउने हो ।

त्यो पनि कार्यदललाई दिने कार्यदेश (टिओआर) सहित बनाएर गठन गर्नुपर्ने हुन्छ । तर कार्यदल बनाउदा त्यसो गरिएको पाइएन, यो प्रक्रिया मिलेन, खनालले भने, यसलाई वैधानिकता दिन पनि पार्टी कमिटी बैठक बोलाउने र त्यसमा एजेण्डा बनाएर छलफल गरेर औपचारिक निर्णय लिनुपर्छ । त्यसका लागि सचिवालय बैठक बोलाउन हामीले प्रचण्ड कमरेडसँग आग्रह गरेका छौं ।

नेताहरु नेपाल, खनाल र श्रेष्ठको कुरा सुनेपछि प्रचण्डले पनि कार्यदल बनाउदा पार्टी बैठक बोलाएर गर्ने विषयमा ध्यान पुग्न नसकेको स्वीकार गरेका थिए  । तपाईहरुका कुरा सही छन्, उठाएका विषय ठिक छन, हो कमिटिबाट बनाउन पाएको भए राम्रो हुने थियो, त्यसतर्फ ख्याल गरिएन, अब सचिवालयबाट त्यसलाई अनुमोदन गराउनका लागि म पहल गर्छु, प्रचण्डले नेताहरुसँग भनेको भनाई उद्धृत गर्दै खनालले भने, सचिवालय बैठक बोलाउन म भोलि नै पहल गर्छु भन्न्नुभएको छ ।

गत असार १० गतेबाट शुरु भएको नेकपा स्थायी समिति बैठकमा १६ गते प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा ओलीले दिनुपर्ने माग आएपछि विवाद उत्र्कषमा पुगेका थियो । जसकाकारण नेकपाभित्र पार्टी नै विभाजन उन्मुख भएको थियो । तर पार्टी विभाजन रोक्ने एउटै शर्तमा नेताहरुले विवादलाई कार्यदलमार्फत ठोस प्रस्ताव बनाउने र त्यसलाई सचिवालय, स्थायी समिति हुदै अनुमोदन गराएर महाधिवेशन लक्षित कार्यक्रम बनाएर जाने गरी सहमति बनाएका थिए ।

सचिवालयकै तीन नेताले कार्यदलको वैधानिकतामा प्रश्न उठाएपछि नेताहरुले सचिवालयबाट त्यसलाई औपचारिकता दिन खोजेका छन् । प्रचण्डले यस विषयमा आजै प्रधानमन्त्री ओलीसँग छलफल गर्ने र सचिवालय बैठक राख्ने विषयमा छलफल गर्ने तयारी गरेका छन् । नेताहरुले सचिवालय बैठक माग गर्न गरेको आग्रहबाट ओली पनि झस्किनुपर्ने अवस्था छैन् । उनीहरुले कार्यदलमा विमति नराखेको तर गठन प्रक्रिया पार्टी कमिटिबाट मिलाउनु पर्ने बताएपछि सचिवालय राख्ने तयारीमा नेकपा पुगेको नेताहरुको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस