चितवनमा एक सातामा ३४ जना संक्रमित, डाक्टरदेखि कर्मचारीसम्म पोजेटिभ

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०७७, १५ : ५८
चितवनमा एक सातामा ३४ जना संक्रमित, डाक्टरदेखि कर्मचारीसम्म पोजेटिभ

चितवन । चितवनमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । दैनिकजसो संक्रमितको संख्या थपिनेक्रम जारी रहेको छ । चितवन जिल्लामा मात्र एक सातामा ३६ जना कोरोेना संक्रमित फेला परेका छन् । संक्रमित हुनेमा डाक्टरदेखि कर्मचारीसम्म रहेका छन् । 

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला प्रमुख नितु अधिकारीले साउन २८ गते चितवन जिल्लाका मात्र ७ जनामा कोरोना संक्रमण देखिएको बताइन् । राप्ती नगरपालिकाका मात्र ६ जना छन् । राप्ती नगरपालिकाका ६ जना नै क्वारेन्टाइनका हुन् । रत्ननगर अस्पतालमा भरतपुर ७ का एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । 

चितवनमा साउन २७ गते सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका थिए । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाले सोही दिन चितवनमा सबैभन्दा बढी संक्रमित फेला परेको जनाएको छ । प्रयोगशाला प्रमुख डा नितु अधिकारीले उक्त दिनको परीक्षणमा भरतपुर महानगरमा १२ जना, राप्ती नगरपालिकामा ३ जना र इच्छाकामना गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताइन् । 

प्रयोगशालाका अनुसार भरतपुर क्यान्सर अस्पतालमा एक जना, मौलाकालिका हस्पिटलमा एक जना, पुरानो मेडिकल कलेजमा एक जना, नेशनल सिटी हस्पिटलमा एक जना र भरतपुर अस्पतालमा उपचार गराइरहेका एक जनामा कोरोना संक्रमण देखिएको थियो । 

साउन २६ गते भरतपुर ११ र ८ का २ जनामा कोरोना संक्रमण भेटिएको थियो । साउन २५ गते कोभिड प्रयोगशालामा कोरोनाको नमुना परीक्षण नै हुन सकेन । प्रमुख डा नितु अधिकारीले निर्मलीकरण गर्नुपरेकाले सो दिन लिइएको नमुनाको परीक्षण हुन नसकेको बताइन् । उनका अनुसार प्रयोगशालामा जनशक्ति पनि अभाव रहेको छ । 

प्रयोगशालाले साउन २४ गते चितवनका ६ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ । सोही दिन ६ बर्षका बालकसहित ६ जनामा कोरोनो पोजेटिभ देखिएको हो । ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयका थुनुवासहित ६ जनामा कोरोना पोजेटिभ देखिएको कोभिड प्रयोगशालाले जनाएको छ । 

साउन २३ गते भरतपुर १ नं वडाका २ जनामा कोरोना पोजेटिभ देखिएको थियो । साउन २२ गते भएको परीक्षणमा सबै जनाको नेगेटिभ नतिजा आएको थियो । एक सातामा चितवनमा झन्डै १५ सय नमुनाको परीक्षण भएको थियो । 
                                                                                                                                   
 

प्रतिक्रिया दिनुहोस