देवघाटमा १०८ धारासहितको मुक्तिनाथ मन्दिर निर्माण गर्ने योजना बनाउँदै अमेरिकन बाबा

प्रकाश सिग्देल

विहीबार, २९ साउन २०७७, १५ : ०९
देवघाटमा १०८ धारासहितको मुक्तिनाथ मन्दिर निर्माण गर्ने योजना बनाउँदै अमेरिकन बाबा

– प्रकाश सिग्देल
चितवन । अमेरिकन बाबाको रुपमा परिचित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्वामी चक्रधराचार्यले देवघाटमा मुक्तिनाथ धाम मन्दिर रमानन्दीय बैष्णव गुरुकुल आश्रम निर्माणको थालनी गर्नु भएको छ । 

उहाँले लेक लाग्ने अवस्था तथा अरु धेरै कारणले मुक्तिनाथ मन्दिर जान नसक्ने भक्तहरुका लागि १०८ धारासहितको मुक्तिनाथ मन्दिर निर्माणको संकल्प गर्नु भएको हो । धर्मको धरोहर बनाउने योजनासहित आफू लागिपरेको स्वामीको भनाई छ । केहि भौतिक संरचना तयार भएपनि विभिन्न कारणले अहिले निर्माणको काम भने अवरुद्ध रहेको स्वामी चक्रधराचार्यले बताउनु भयो ।

हाल मन्दिर रहेको स्थानमा नै सयौँ वर्ष अगाडि कालीगण्डकी र त्रिशुलीको संगम भएको र त्यही मुक्तिनाथ मन्दिरको बराबरको पानीको मूल पनि रहेकाले यो स्थान निकै पबित्र स्थान भएको उहा बताउनु हुन्छ । १०८ धारासहित निकै ब्यवस्थित बनाई भक्तहरुलाई निःशुल्क आवास, भोजन, सत्संग, औषधि उपचारसहितको मुक्तिनाथ धाम मन्दिर रमानन्दीय श्री बैष्णव गुरुकुल आश्रम निर्माण थालेको स्वामीको भनाई छ । 

मुक्तिनाथ जान नसक्नेहरु देवघाटमा बसेर स्नान गर्न सकुन् भन्नका लागि १०८ धारासहित मन्दिर बनाउने, संसारमा जुनसुकै देशका मानिस भएपनि सत्संग गर्न चाहेमा आफ्ना सबै खराब कर्म बिर्सिएर पूजा, आराधना, सत्संग गरेर बस्न सक्ने ब्यवस्था मिलाउने र अखण्ड भजनको ब्यवस्था गर्ने र कम्तीमा पनि ३ दिन निःशुल्क रुपमा खान, बस्न सक्ने ब्यवस्था मिलाउने आफ्नो उद्देश्य रहेको स्वामी बताउनु हुन्छ ।

कसैलाई आश्रममा बस्ने चाहना भएमा आश्रमको पद्धति अनुसार बच्चा, जवान र बृद्ध जो पनि निःशुल्करुपमा आश्रममा बस्न सक्ने उहाँको भनाई छ । प्राकृतिक चिकित्सालय पनि निर्माण गर्ने र निःशुल्क रुपमा सबैको उपचार गर्ने स्वामी चक्रधराचार्य बताउनु हुन्छ ।  

आममानिसलाई नौतिकवान बनाउन बालबालिकालाई शिक्षा दिँदा पहिला भानुभक्तको रामायण पढाउनु पर्ने र रामायण पढाएपछि राम सिता जस्तो छोरा बुहारी बन्ने  उहाँको भनाई छ ।

सबै जातिका छोराछोरीलाई  २ वर्ष अनिवार्य बेद पढाउन पर्ने उहाँको भनाई छ ।  जातभात भन्ने कुरा कर्मका आधारमा हुने र क्षेत्री, वैश्य, सुद्र परिवारमा जन्मिएपनि ब्राह्मणको कर्म गर्छ भने त्यो ब्राह्मण नै हुने उहाँ बताउनु हुन्छ । सही धर्मको अनुसरण गरी मनुष्य जीवनलाई सार्थक बनाउँदै यो जन्ममा पुण्य कमाउँदै सबै जनको भलो गर्न सत्कर्म गर्नु पर्ने र त्यो नै मानव जन्मको सार्थकत हुने उहाँ बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस