कान्तिपुरका बरिष्ठ पत्रकार बलराम बानियाँ मृतावस्थामा फेला

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०७७, १४ : २२
कान्तिपुरका बरिष्ठ पत्रकार बलराम बानियाँ मृतावस्थामा फेला

काठमाडौं । पत्रकार बलराम बानियाँ मृतावस्थामा फेला परेका छन् ।

तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बानियाँको शव मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा फेला परेको हो । 

प्रहरीका अनुसार बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ ।

उनी तीन दिनदेखि परिवार साथीभाइ र कार्यालयमा सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार बिहान उजुरी गरेको थियो ।  

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेऊबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए ।

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

तनहुँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए । केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस