सुशील भट्टलाई तत्काल काम गर्न नदिन अदालतको आदेश

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १८ : २२
सुशील भट्टलाई तत्काल काम गर्न नदिन अदालतको आदेश

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई तत्काल काम गर्न नदिन पाटन उच्च अदालतले आदेश दिएको छ । 

अधिवक्ता जयबहादुर भुजेलले आइतबार भट्टको नियुक्तिविरुद्ध पाटन उच्च अदालतमा निवेदन दायर गरेका थिए । उक्त निवेदनमा मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयको सो नियुक्तिसम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो । 

भुजेलले दायर गरेको उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले तत्कालको लागि काम नगर्न आदेश दिएको हो । साथै अदालतले अन्तरिम आदेशको निरन्तरताको सम्बन्धमा छलफल गर्न दुबै पक्षलाई साउन ३२ गतेको लागि बोलाएको छ । 

अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो । अदालतको आदेशमा भनिएको छ, ‘मन्त्रिपरिषद्को साउन १९ गतेको सो निर्णय कार्यान्वयन नगर्नु नगराउनू, जे अवस्थामा छ सोही अवस्थामा राख्नू ।’  साथै सो दिन अदालतले एमिकस क्युरी समेत डाकेको छ ।

प्रतिक्रिया दिनुहोस