बार्षिक पाँच करोड भुरा बिक्री गर्दै मत्स्य विकास कार्यालय भण्डारा

प्रकाश सिग्देल

मंगलबार, २७ साउन २०७७, १६ : २८
बार्षिक पाँच करोड भुरा बिक्री गर्दै मत्स्य विकास कार्यालय भण्डारा

– प्रकाश सिग्देल
चितवन । मत्स्य विकास कार्यालय भण्डाराले वार्षिक ५ करोड ह्याचलिङ भुरा बिक्री गर्ने गरेको छ । 

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश अन्तर्गतको यो कार्यालयले कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिगहेड कार्प, रहु, नैनी र भाकुरा जातका ५ करोडभन्दा बढी ह्याचलिङ भुरा बिक्री गरेको मत्स्य विकास कार्यालय भण्डाराका वरिष्ठ मत्स्य विकास अधिकृत माधवप्रसाद दाहालले बताउनु भयो । 

४० लाख फ्राई भुरा र आँैला साइजका भुरा (फिङ्गर लिङ्क) पाँच लाखभन्दा बढी उत्पादन गरी बिक्री भएको उहाँको भनाई छ । कार्यालयले ह्याचलिङ भुरा प्रतिलाख २ हजारदेखि २५ सय, फ्राई प्रतिभुरा २५ पैसा र फिङ्गर लिङ्क प्रतिभुरा ७५ पैसाका दरले बिक्री गर्ने गरेको उहाँले बताउनु भयो । 

मत्स्यपालन व्यवसायलाई व्यावसायिक रुपमा ठूलो परिमाणमा माछा उत्पादन गर्ने उद्देश्यले २०२६ सालमा यो कार्यालय स्थापना भएको हो । यस केन्द्रको स्थापनाकालको क्षेत्रफल ६० हेक्टर रहेपनि शुरुदेखि नै पानीको अभावका कारण पूर्ण क्षमतामा कहिले पनि संचालन हुन सकेको देखिँदैन । 

यस केन्द्रले दशौं पञ्चवर्षीय योजनामा निर्धारित लक्ष्यभन्दा उल्लेखनीय रुपमा बढी उपलब्धि हासिल गरी प्रभाव क्षेत्रमा मत्स्य उत्पादन वृद्धिमा निजी क्षेत्रलाई निरन्तर प्राविधिक सेवा र टेवा पु¥याउन सक्षम भएको कार्यालयले जनाएको छ । यो केन्द्रले चितवनसहित नवलपरासी, धादिङ, गोर्खा, मकवानपुरलगायत छिमेकी जिल्लालाई समेत भुरा दिँदै आएको दाहाल बताउनु हुन्छ । दाहालका अनुसार केन्द्रका कारण माछापालक किसानका लागि निकै ठुलो सहयोग मिलेको छ । 

गुणस्तरी मत्स्य बीज उत्पादन गरी कृषकको माग अनुरुपको जात र साइजका भुरा समयमै उपलब्ध गराउने, माछा भुरा आपूर्तिमा निजी क्षेत्रको दक्षता र क्षमता वृद्धि गरी आत्मनिर्भर गराउँदै लैजाने, माछाको उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याउने किसिमका प्राविधिक सेवा, सीप एवं ज्ञान उपलव्ध गराई प्रविधि हस्तान्तरण गर्दै उत्पादन वृद्धि कार्यमा सघाउ पु¥याउने, विकसित प्रविधिको परिमार्जन गर्ने र उपयुक्त स्थानमा प्रसारण गरी दिगोपना एवं निरन्तरताको लागि प्रयास गर्ने, जनचेतना अभिवृद्धि तथा तालिम प्रदान गर्ने,  खेर गैरहेको जलस्रोत र जनशक्तिलाई परिचालन गरी माछाको आयात प्रतिस्थापन र रोजगारीको अवसर सिर्जना गर्न निजी क्षेत्रलाई सहयोग गर्ने, मत्स्य उत्पादन एवं प्रसार कार्यक्रम संचालन गर्न जिल्ला तथा केन्द्र स्तरमा समन्वय गर्ने लगायतका उद्देश्य केन्द्रको रहेको दाहाल बताउनु हुन्छ ।

केन्द्रले गुणस्तरीय मत्स्य बीज उत्पादन एवं वितरणको अलावा प्रविधिको विकास, प्राविधिक ज्ञान, सीप दिलाउने, सेवा र टेवा प्रदान गर्ने एवं आकस्मिक सेवाहरु समेत प्रदान गर्दै आएको छ । यस केन्द्रले दीर्घकालीन रुपमा खासगरी प्रभाव क्षेत्रका जिल्लाका कृषकहरुलाई मत्स्यपालन व्यवसायबाट कसरी फाइदा पु¥याउन सकिन्छ भन्ने मूलभूत सिद्धान्तलाई अंगीकार गरी आफ्ना कार्यक्रमलाई बिस्तार गरिरहेको र यो वर्ष पनि प्रदेश सरकारले पोखरी स्तरीकरण र क्षमता बिस्तारका लागि आवश्यक बजेट बिनियोजन गरेको कार्यालयका सहलेखापाल राजेन्द्र कुमालले बताउनु भयो । 

केन्द्रमा ३४ वटा माछापोखरी रहेको र ती माछापोखरीमा माउ हुर्काएर ह्याचिङ गरी किसानलाई सर्वसुलभ मूल्यमा बिक्री गर्ने गरेको छ । थोरै मात्रामा खाने माछा पनि बिक्री गर्ने गरेको छ । 

किसानले एक हेक्टरमा १० देखि १५ हजार भुरा राख्नु पर्ने कार्यालयले जनाएको छ । केन्द्रमा माछाको भुराको माग अत्यधिक हुन थालेको छ । यहाँ साना, मझौला र केही ठूला गरी तीन साइजका माछा उत्पादन गरेर किसानलाई बिक्री गरिँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस