बागलुङमा भित्रिए मरेका कुखुरा, सङ्क्रमण फैलने त्रास

रासस

मंगलबार, २७ साउन २०७७, ११ : ५१
बागलुङमा भित्रिए मरेका कुखुरा, सङ्क्रमण फैलने त्रास

फाइल तस्विर

गलकोट । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै बागलुङ जिल्लामा पशुपक्षी भित्र्याउन रोक लगाइए पनि अनुमतिविपरीत कुखुरा भित्रिएका छन् । सोमबार पोखराबाट भित्रिएको ५०० कुखुरामध्ये ३० कुखुरा मरेका र ४० कुखुरा बिरामी परेको फेला परेको छ । 

सोमबार बिहान भित्रिएकामध्ये मरेका कुखुरा बागलुङ नगरपालिका–३ गौंडाकोटको गोदाममा काट्दै गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र बागलुङ नगरपालिकाको पशु शाखाको टोली गोदाममा पुग्दा ५०० कुखुरामध्ये ३० मरेको र ४० बिरामी परेको पाइएपछि मरेका कुखुरा जफत गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै जिल्लामा अवैध तरिकाले भित्रिएका कुखुरामध्ये मरेका कुखुरा काट्दै गरेको फेला पारेपछि स्थानीयवासीले जिल्ला प्रहरी र नगरपालिकालाई खबर गरेर जानकारी गराएको स्थानीय गङ्गा पुनले जानकारी दिए । मरेका कुखुरा भित्रिएको खबर पाएलगत्तै जिल्ला प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सम्बन्धित निकाय त्यस स्थानमा पुगेर मुचुल्का तयार गरी प्रहरीलाई बुझाएका छन् ।

मरेका कुखुरा भित्र्याएर नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । नगरपालिकाले जिल्ला प्रहरी कार्यालय बागलुङलाई मरेका कुखुरा नष्ट गर्न पत्राचार गरेको र व्यवसायीलाई अन्य कुखुरा बिक्री वितरण गर्न रोक लगाएर गोदाममै राख्न भनेको नगरपालिकाका पशु शाखाका पशु स्वास्थ्य अधिकृत शशिधर शर्माले जानकारी दिए ।

यद्यपि स्थानीयवासीले सबै कुखुरा नष्ट गर्न माग गरेका छन् । नगरपालिकाले रोक लगाएको वस्तु बजारमा आउँदा सम्बन्धित निकायले बेवास्ता गरेको आरोप छ । स्थानीय गङ्गा पुनले मरेको कुखुरा काट्दै गरेको फेला पारेको भन्दै यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै सबै कुखुरा नष्ट गर्नुपर्ने बताए ।

व्यवसायीले अप्रत्यक्षरूपमा यसअघि पनि पटक–पटक मरेको कुखुरा आयात गरेर बिक्री वितरण गर्दै आएको स्थानीयवासीको आरोप छ । नागरिकको खाद्य अधिकारमाथि खेलबाड भएको भन्दै अवैध कुखुरा आयात गर्ने र मरेका कुखुरा बिक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।  

बागलुङ बजारको लालीगुराँसचोकमा मासु पसल सञ्चालन गर्दै आएका व्यवसायी ग्रिन शाहले पोखराबाट बागलुङ बजारमा व्यापार गर्नका लागि आयात गरेको कुखुरा मरेको र बिरामी अवस्थामा फेला परेको जानकारी आएपछि तत्कालै कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । उनले नगरपालिकाले नष्ट गर्न पत्रचार गरेअनुसार मरेका सबै कुखुरा नष्ट गरिने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस