कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या ३६९ पुग्यो, १४९ ‘डिस्चार्ज’

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १३ : ४७
कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या ३६९ पुग्यो, १४९ ‘डिस्चार्ज’

काठमाडौं । देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३६९ पुगेको छ । 

हाल देशभर ३६९ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले बताएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ संक्रमितमध्ये १४९ जना प्रहरी निको भएर घर फर्किसकेको र २२० जना कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।     

कोरोनाको सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६ जना, काठमाडौं उपत्यकाका १४ जना, प्रदेश नं १ का २१ जना, प्रदेश नं २ का ३६ जना, वाग्मती प्रदेशका दुई जना, गण्डकी प्रदेशका १९ जना, प्रदेश नं ५ का ११ जना र सुदूरपश्चिम प्रदेशका एकजना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन् । 

आइतवारसम्म नेपालभर कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ भने १६ हजार ३५३ संक्रमित निको भएर घर फर्किसकेका छन् । यस्तै नेपालभर आइतवारसम्म कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भइसकेको छ ।