उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्न आग्रह

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, १६ : ११
उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्न आग्रह

काठमाडौँ । उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज रक्षा मन्त्रालयमा छलफल गरेको छ । फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल गरेका हुन् ।

संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रण र यसका लागि चाल्नुपर्ने सकारात्मक कदमलगायतका विषयमा छलफल भएको फोरमका अध्यक्ष शाक्यले जानकारी दिए । ‘काठमाडौँ उपत्यका मुलुकको राजधानी समेत हो । यहाँको घनावस्ती युक्त क्षेत्रमा कोरोना संक्रम समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ प्रवेश गर्ने नाकामा थप कडाई गर्न हामीले सीसीएमसीका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्रीपोखरेलज्युलाई आग्रह गरेका छौँ,’ शाक्यले भने, ‘हामीले उपत्यकावासीको मागका बारेमा जानकारी गराएका छौं । उहाँले हाम्रो सुझावलाई सकारात्मक रुपमा लिनुभएको छ । आजै सीसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भिरताका साथ छलफल गर्छौ भनेर उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।’ 

छलफलका क्रममा फोरमको तर्फबाट तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टायन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टायन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको शाक्यले जानकारी दिए ।

‘उपत्यकामा समूदाय स्तरमा संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको विरोध र समर्थनमा (याली, भेला अनशन, जुलुसलगायतका गतिविधिमा कडाई गर्न पनि हामीले सुझाव दिएका छौँ,’ उहाँ मेयर शाक्यले भने, ‘जात्रा–पर्व विधिपूर्वक सामान्य रुपमा मनाउन र भिडभाडका साथ नमनाउन स्थानीयलाई आग्रह गरेका छौ । सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनसनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाव दिएका छौं ।’

मेयर शाक्यले अहिले सरकारको नियमको पालना नगरी जथाभावी रुपमा लुकीलुकी उपत्यका भित्रिने गरेको र उनीहरुका कारण समूदायस्तरमा सम्म कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै त्यस्ताहरुलाई कारवाहीको दायरामा ल्याउने व्यवस्था गर्न समेत आग्रह गरेयो । 

त्यसैगरी, छलफलमा फोरमका सचिव श्रेष्ठले संक्रमण सर्न सक्ने सम्भावनलाई न्युनिकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखेर मास्क नलगाई आवत–जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सुझाव दिएको जानकारी दिए । फोरमका अध्यक्ष शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव श्रेष्ठसहितको शनिवार बसेको छलफलले आज मन्त्री पोखरेललाई भेटी सुझाव दिने निर्णय गरेको थियो । फोरमको बैठक सोमबार बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस