--रामचन्द्र अधिकारी
संविधानसभाले बनाएको नेपालको संविधान(२०७२ ले राष्ट्रलाई समाजवादउन्मुख गराउन मार्गनिर्देश गरेको छ । १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा तयार संविधानबाट यस्तो मार्गनिर्देश भएको हो । सहजै समाजवादउन्मुख संविधान बनेको होइन । यसका पछाडि एउटा राजनीतिक शक्ति र नेतृत्वको ठूलो मिहिनेत, योजना र कार्यशैलीले काम गरेको छ ।
यस्तो संविधानको परिकल्पना तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०५७ मा लेखेको राजनीतिक दस्तावेजमार्फत गरेका थिए । गणतन्त्रवादी, देशभक्त, प्रगतिशिल,बामपन्थीलाई एउटै मालामा उन्दै प्रचण्डले त्यतिवेला समाजवादतर्फको यात्राबारे राजनीतिक मार्गचित्र अगाडि सारेका थिए । राजनीति आयामलाई इमान्दारीतापूर्वक विश्लेषण गर्ने हो भने नेपाल अहिले त्यहि राजनीतिक दस्तावेजको जगलाई संस्थागत गर्दै अगाडि बढेको देखिन्छ ।
यतिबेला समाजवाद अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी स्थानीय, प्रदेश र संघीय सरकारको काँधमा छ । मूलुकलाई संघीयताको ढाँचामा लैजाने तथा तीन तहको सरकारको परिकल्पना पनि १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा निर्माण भएको हो, जसलाई संविधानसभाबाट बनेको संविधानले संस्थागत गर्यो । यद्यपी कतिपय ठाँउमा यो मर्मअनुसार काम नगर्ने नेतृत्व छ । नेपालमा समाजवादी क्रान्तिको बिउ रोप्ने, त्यसलाई जगेर्ना गर्दै हुर्काउने नेपालका कम्युनिष्ट नै हुन । संविधानसभाबाट संविधान जारी भएपछि समाजवाद व्यवहारमा लागू गर्ने समय आयो । यसका लागि एउटा राजनीतिक पहलको खाँचो थियो ।
त्यसैअनुसार नेपालका सबै कम्युनिष्टलाई एउटै मालामा उन्ने लक्ष्य र उद्देश्य पूरा गर्न नेकपा माओवादी र नेकपा एमालेलाई मिलाएर नेपाल कम्युनिष्ट पार्टी बनाइएको हो । राजनीतिक शक्तिका हिसावले नेकपा समाजवाद ल्याउने राजनीतिक आधार हो । समाजवादका लागि राजनीतिक शक्ति छ र त्यसैअनुसार अहिले अनूकुल संरचना पनि । तीन वटै तहका सरकारको बहुसंख्यक नेतृत्वमा नेकपा नेता तथा कार्यकर्ता छन्। उनीहरुले बनाउने नीति, कार्यक्रम र बजेटलाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यकेन्द्रित गरेर अगाडि बढाउनु पर्ने आवश्यकता छ ।
संघ, प्रदेश र स्थानीय तहका सरकारको नेतृत्वमा रहनेले समाजवाद उन्मुख संविधानको जग जनयुद्ध र जनआन्दोलन हो भन्ने ध्यान दिएर नीति तथा कार्यक्रम बनाउनुपर्छ । नेकपाका नेता कार्यकर्ताले यसलाई भुल्नु हुँदैन । समाजवादका लागि हामीसँग संवैधानिक बैधानिकता छ । समाजवादी समाज निर्माण गर्ने उद्देश्यमा अन्तरनिहित दुई ठूला कम्युनिष्ट पार्टीको एकता छ । तीन वटै तहमा नेकपाको बहुमतको सरकार छ । यसरी हेर्दा समाजवादको लक्ष्य धेरै टाँढा छैन् । तर, अहिलेको परिस्थिति अनुसारको राजनीतिक नेतृत्व उत्तिकै महत्वपूर्ण छ ।
नत्र संविधानले सुनिश्चता गरेका उपलब्धी पनि धरापमा पर्न सक्छन् । यद्यपी क्रान्तिको विकास हुन्छ, पुनराबृत्ति हुँदैन । जनयुद्ध र जनआन्दोलन पहिलेकै तरिकाले फेरी संभव हुँदैन । तर ती क्रान्तिका लक्ष्य र उद्देश्य पूर्ति गराउन हिडने राजमार्ग कहिले सिधा,कहिले दायाँ,कहिले बाँयाबाट हुन सक्छ । त्यसैले सवै मोडहरु पार गर्न सक्ने नेतृत्व अहिले हामीलाई आबश्यक छ । समकालीन नेपाली राजनीतिमा आफनो लक्ष्य र उद्देश्य पूरा गर्न लचिलो र कसिलो हुन तयार हुने राजनीतिक व्यक्ति प्रचण्ड बाहेक अरु छैनन् । प्रचण्ड रुदारुँदै हाँस्न सक्छन्, हाँस्दा हाँस्दै रुन सक्छ ।
प्रचण्ड पार्टीलाई बायाँतिर हिडदा हिडदै दाँयातिर दौडाउन सक्छन्, दाँयाँतिर हिडदा हिडदै बाँयातिर मोड्न पनि सक्छन् । उनको यही क्षमताले क्रान्तिको माला जप्ने तर क्रान्तिमा होमिन हिम्मत नगर्ने पार्टीलाई जनयुद्धको महासमरमा होमिदिएको थियो । फेरि जनयुद्धको जटिल कोर्शबाट पार्टीलाई शान्तिपूर्ण रुपमा रुपान्तरण गरिदिने नेता पनि प्रचण्ड नै हुन । सत्ता हुँदा प्रतिपक्षसँग मिल्न सक्ने, प्रतिपक्षमा हुँदा सत्तापक्षसँग मिल्न सक्ने क्षमता पनि प्रचण्डमा छ । २०७२ को महाबिनाशकारी भूकम्पका वेला प्रतिपक्षी दलको नेताको हैसियतमा रहेका प्रचण्डले तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालालाई ढाड्स दिएर प्रतिपक्ष सरकारको पक्षमा छ भन्ने सन्देश दिए मात्रै होइन, सत्ता पक्षलाई उद्धार र पुननिर्माणमा जुटाउन आफैले पहलकदमी लिएको इतिहास हामी सामू छ । राजनीतिक नेता सवैमा यो विशेषता हुँदैन ।
वर्गीय विभेद अन्त्य गर्न, सबै खालको उत्पीडनको समाप्त गर्न र उत्पीडकका बिरुद्ध धावा बोल्ने हिम्मत र साहस नागरिकमा विकास गराउने प्रचण्ड नै हुन । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रचण्डले खेलेको भूमिकालाई समकालीन नेपाली राजनीतिले बिर्सन सक्दैन । फरक पार्टीमा रहेर नेकपा नेताहरु झलनाथ खनाल, केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रचण्ड नै हुन । नेकपा नेता माधवकुमार नेपाललाई पनि प्रधानमन्त्री बन्नका लागि संसदमा लैजाने भूमिका प्रचण्डकै थियो । ती सबै काम प्रचण्डले समाजवाद उन्मुख समाज निर्माणकै लागि चालेका कदम हुन ।
संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादी अर्थतन्त्रका कोरियोग्राफर प्रचण्डलाई अहिले जसरी पदलोलुप भनेर देखाउन खोजिदैछ,तथ्यले त्यसलाई पुष्टी गर्दैन । दलित, महिला, जनजाति समुदायका मानिस अहिले प्रशासन,राजनीति र समाजका हरेक ठाउँमा जुन रुपमा उपस्थित छन्, तिनीहरुलाई त्यो ठाउँमा पुरयाउने बिचार र आन्दोलनको नेतृत्वकर्ता प्रचण्ड नै हुन । संघीय लोकतान्त्रिक गणतन्त्ररुपी बच्चा त नेपालको संविधान मार्फत जन्मियो,त्यसलाई हुर्काउने र बढाउने जिम्मेवारीबोध त्यसले मात्र गर्न सक्छ,जसले त्यो आन्दोलनको कोरियोग्राफरको भूमिका निर्वाह गरेको छ ।
त्यहि भएर अहिले एउटा पक्ष पार्टीलाई बिभाजन गराउन केन्द्रित भइरहेका वेला प्रचण्ड पार्टीलाई जुटाउन हरसंभव उपाय अवलम्बन गरिरहेका छन् । त्यो आन्दोलनका उपलब्धीलाई संस्थागत गराउन प्रचण्डको नेतृत्वमा नेता कार्यकर्ताको समूह गोलबन्द हुनु पर्दछ। निश्चित स्वार्थ बोकेका व्यक्ति,पात्र र प्रबृत्तिका मान्छेहरुले प्रचण्डलाई घेरा हाल्ने कोशिश गर्छन । वेलैमा सचेत हुँदै ठिक र वेठिक छुटयाएर व्यवार गर्न जरुरी छ । तिनीहरुका गुनासा र स्वार्थ हैन पाटी क्रन्तिको आवश्यकतामा प्रतिभा र क्षमतावान मान्छे प्रचण्डको योजनामा परिचालन हुनुपर्दछ ।
ती स्वार्थी समूहका मान्छे आफनो स्वार्थ पूरा भएपछि प्रचण्डलाई मन ,बचन र कर्मले सहयोग गर्दैनन् भन्ने तथ्य दुई दशक लामो राजनीतिमा देखिएका पात्र र प्रबृत्तिले प्रष्टयाउँछन् । प्रचण्डले पनि आफूलाई मन,बचन र कर्मले सहयोग गर्नेहरुलाई आफनो साथमा राखिराख्न सक्नुपर्छ किनकी दुखमा साथ दिने तिनिहरु नै हुन, स्वार्थी समूह होइनन् । जसरी जनयुद्धको वेला हजारौ योद्धा प्रचण्डको आदेशमा आफ्नो जवानी र उर्जालाई क्रान्तिमा होम्न तयार भयो,त्यसैगरी त्यस्तै युवाहरुको जमात समाजवादी समाज निर्माण गर्ने दिशामा राजनीतिलाई केन्द्रित गराउन लाग्नु पर्दछ।
नेकपाभित्र अहिले दुई धार प्रष्ट देखिन्छ । एउटा धार पार्टीलाई बिधि पद्धतिमा सञ्चालन गर्न चाहने र अर्कोधार अराजकतातिर लैजाने । नेकपाभित्रको अहिलेको विवाद त्यहि हो । पार्टीका नीति योजना कार्यान्वयन नगर्ने, पार्टीको निर्देशन नमान्ने एकमनाबादी सोचले पार्टीमा विवाद भएको हो । पार्टीको लक्ष्य र उद्देश्य हासिल गर्न पार्टी कमिटी पद्धतिमा चल्नुपर्छ । पार्टीका बैठकलाई आफनो अनुकुल निर्णय नहुने देखिएपछि अनिश्चितकालका लागि स्थगित गर्ने शैली आफैमा अराजकता हो ।
अराजक शैलीलाई सच्याउन पार्टीका बैठक, भेला निरन्तर हुन आवश्यक हुन्छ । तलदेखि माथिसम्म पार्टीका कमिटीलाई चलाएमान बनाएर मात्रै सरकार गतिशिल हुने हो । पार्टी एकातिर सरकार अर्कोतिर हुँदा परिणाम निकाल्न सकिदैन । झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपा नेतृत्वको सरकार हुँदा पनि जनताले राहतको अनुभुति गर्न नसक्नुका पछाडि कारण पनि त्यहि हो । सत्तालाई सन्तुलनमा राख्नका लागि पनि पार्टी कमिटीलाई चुस्त दुरुस्त राख्न आवश्यक हुन्छ । कम्युनिष्ट पार्टीमा त झन महत्वपूर्ण हुन्छ ।
संसारको सबै भन्दा ठूलो पार्टी चिनिया कम्युनिष्ट पार्टी हो । बिधि पद्धति नमान्ने नेतृत्व हुँदो हो त चिनियाँ कम्युनिष्ट पार्टीले चीनलाई नेतृत्व प्रदान गर्न सक्ने अवस्था हुने थिएन । चिनियाँ कम्युनिष्ट पार्टीको नीति र योजनाकै आधारमा चीनले अहिले बिश्वको नेतृत्व गर्न लागि रहेको छ । नेकपाले अहिले जुन अवसर प्राप्त गरेको छ, त्यो अवसर बिरलै प्राप्त हुन्छ । त्यसकारण पार्टी र सरकारलाई सन्तुलनमा राख्न सक्दा मात्र नेकपाले आफनो लक्ष्य र उद्देश्य पूरा गर्न सक्छ । पार्टीलाई बिधि र पद्धतिमा सञ्चालन गर्न र केहि नेता र प्रबृत्तिलाई अराजक हुनबाट रोक्न नेकपाका नेता(कार्यकर्ताले अव बहस चलाउनुपर्छ । र, बहसलाई सकारात्मक निष्कर्षमा पुरयाउनुपर्छ ।
तीन दशकदेखि नेपाली राजनीतिलाई आफनो वरीपरी घुमाउन सफल प्रचण्ड अहिले सत्तामोहमा डुबेका केहि व्यक्ति र प्रबृत्तिसँग लडिरहनु परेको छ । क्रान्तिदेखि शान्तिपूर्ण राजनीतिमा राजनीतिक परिवर्तनका उपलब्धीलाई संस्थागत गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गराउन राजनीतिलाई अग्रसर गराउन प्रचण्डको वरीपरी गोलबद्ध हुनु पर्ने आवश्यकता छ । नेकपाका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले जसरी प्रचण्डलाई साथ दिइरहेका छन् । पूर्व माओवादीकै नेताहरुले पनि त्यसरी नै साथ दिन जरुरी छ । ती नेताहरुले आफ्नो निहित स्वार्थमा प्रचण्डलाई धोका दिन पाउन्नन्, त्यो वर्गिय आन्दोलनको प्रतिवद्दता विपरित हुन्छ।
क्रान्तिका उपलब्धीलाई संस्थागत गर्दै समाजवादको आधार निर्माणको नेतृत्व नेकपाले मात्र गर्न सक्छ । त्यस्को निम्ति नेकपालाई बलियो बनाउन नेता तथा कार्यकर्ता एकताबद्ध हुने र पार्टी बिभाजन गर्न चाहने प्रबृत्तिलाई परास्त गर्ने नै हो । प्रचण्डको राजनीतिक इतिहास हेर्ने हो भने सबै एकता संघर्ष र रुपान्तरण गराउन सिपालु देखिन्छन् । फुटेर होइन, जुटेर मात्र क्रान्तिका अभिभारा पूरा गर्न सकिन्छ भन्ने बुझाइ प्रचण्डमा देखिन्छ ।
नेकपालाई गोलचक्करमा राख्ने होइन,गतिशिल बनाउने हो । नेकपालाई गतिशिल बनाउन नेतृत्व पनि त्यस्तै गतिशिल हुन जरुरी छ । उखान तुक्काले अवको राजनीति चल्दैन र मुलुकलाई गति दिन पनि सक्दैन । राष्ट्र र राष्ट्रिय हितको संरक्षण र प्रबद्र्धन गर्न, राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउन र नेपाललाई समाजवादउन्मुख अर्थतन्त्रकोदिशामा अग्रसर गराउन गतिशिल नेतृत्व अहिले आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस
आरसी अधिकारी
आइतबार, २५ साउन २०७७, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन
सहिद परिवारको घरमा प्रचण्डको बास
माओवादी प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद
सहिद तथा बेपत्ता परिवारको एक जनालाई रोजगारी दिने व्यवस्था सुनिश्चित गर्दैछौँ : प्रचण्ड
अभियानमा सहभागी हुन बाँके पुगे ‘प्रचण्ड’
सरकारले लाज पचाएर शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड