भोजपुरमा सवारी पासमा कडाइ

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, ११ : ५३
भोजपुरमा सवारी पासमा कडाइ

फाइल फोटो

भोजपुर । कोरोनाको संक्रमण दिनुदिन बढ्न थालेपछि भोजपुरमा सवारी पासमा कडाइ गरिएको छ । जिल्ला प्रवेश गर्नेको संख्यामा बृद्धि हुन थालेपछि जिल्ला भित्रिने र वाहिरिने सवारी पासमा कडाई गरेको हो ।

भोजपुरबाट अन्य जिल्लामा यात्र गर्नु परेमा अनिवार्य सवारी पास लिन आग्रह गरेको छ । यदि कसैले यात्र गर्दा सवारी नलिइ जिल्ला प्रवेश गर्न खोजेमा यात्रा गरेकै जिल्ला फर्काइ दिने प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनुभयो ।

जिल्ला वाहिरा गएर दश दिनसम्म बसेका शिक्षक र कर्मचारीले अनिवार्य पिसिआर रिपोर्ट ल्याएर आए मात्र जिल्ला प्रवेश गर्न दिने भएको छ । स्थानीय तहहरुले शिक्षक तथा अन्य कर्मचारीहरुलाई कार्यालयमा अनिवार्य हाजिर हुन भनेपछि जिल्ला बाहिराका शिक्षकहरु भित्रिने क्रम बढेकाले कडाई गरिएको प्रमुख जिल्ला अधिकारी पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पिसिआर रिपोर्ट नभएकाहरुले अनिवार्य १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने र क्वारेन्टाइनमा बस्दा र पिसिआर गर्दा लागेको खर्च समेत आफैले व्यहोर्नु पर्नेछ ।’

त्यस्तै, जिल्ला भित्रका कभर्डहल, मठमन्दिर, चर्च र गुम्बा बन्द गर्ने भएको छ ।  सदरमुकामबाट ट्याक्सी रिर्जभ गरि जिल्ला वाहिरा जाँदा सर्वसाधारण ठगिएको भन्दै  भाडादर समेत निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भाडामा मनपरी भएको कारण भोजपुरदेखि धरान र इटहरी सम्मको भाडा १४ हजार र विराटनगरसम्मको भाडा १५ हजार तोके छ, यो तोकेको दरभन्द बढी भाडा लिने सवारी साधनलाई कार्वाही हुन्छ ।’

यस्तै, सदरमुकाममा रहेका होटलहरुलाई राती ९ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ । बैठकले अधिकांश विद्यालयमा रहेका क्वारेन्टाईन हटाएर प्रत्येक पालिका केन्द्रमा २० शैयाको क्वारेन्टाईन निर्माण गर्न सबै पालिकाहरुलाई अनुरोध गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।