१ हजार ४ सय नेपाली स्वदेश फर्किए

रासस

विहीबार, २२ साउन २०७७, २२ : ०२
१ हजार ४ सय नेपाली स्वदेश फर्किए

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।
    
कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएको हो । नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५४ र दमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौँ ल्याएको छ  । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज रियाद र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।
    
यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र कतारको दोहाबाट १५७ यात्रु तथा दुई शव नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट दुई उडानमार्फत क्रमशः १६८ र १६६ यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ ।

मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १७८, फलाई दुबईले दुबईबाट १६४ र टर्किस एयरलाइन्सले ७६ यात्रु ल्याएको छ । शुक्रबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १४ चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।