चिकित्सक भन्छन् : ‘संक्रमण तीव्र भए भेन्टिलेटर र आईसीयू पुग्दैन’

पत्रपत्रिकाबाट

विहीबार, २२ साउन २०७७, ०८ : ०९
चिकित्सक भन्छन् : ‘संक्रमण तीव्र भए भेन्टिलेटर र आईसीयू पुग्दैन’

काठमाडौँ । कोभिड–१९ का जटिल बिरामी बढ्दै गए उपलब्ध भेन्टिलेटर र आईसीयू शय्याले नधान्ने देखिएको छ । कोरोनाका गम्भीर बिरामीको उपचारका लागि निजी र सरकारीमा गरी ९ सय भेन्टिलेटर र १ हजार ७ सय २ आईसीयू शय्या मात्र उपलब्ध रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विज्ञहरूले संक्रमितको संख्या बढिरहेकाले थप आईसीयू र भेन्टिलेटर चाहिने बताएका छन् ।

देशभरि बुधबारसम्म चार जना भेन्टिलेटरमा र ४६ जना संक्रमित आईसीयूमा छन् । मन्त्रालयका अनुसार हाल वाग्मती प्रदेशमा २४ जना आईसीयूमा र चार जना भेन्टिलेटरमा छन् । त्यस्तै प्रदेश २ मा १९ जना, प्रदेश ५ मा दुई जना र सुदूरपश्चिममा एक जना बिरामी आईसीयूमा छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले आईसीयूमा जाने बिरामीको बढ्दो संख्याले चिन्ता बढाएको बताए । ‘आईसीयू र भेन्टिलेटरको उपचार प्रक्रिया सहजै थेग्न नसकिने भएकाले कोरोना संक्रमणको विस्तार रोक्न थप कडा पाइला चाल्नु आवश्यक छ,’ उनले भने । 

त्रिवि शिक्षण अस्पतालका सबै आईसीयू भरिएको आईसीयू विभाग प्रमुख डा. सुवास आचार्यले जानकारी दिए । ‘कोरोना बिरामीका लागि आईसीयूको आवश्यकता देशभरि बढेको छ,’ उनले भने । कोरोना संक्रमणको दर यही अनुपातमा बढे काठमाडौं उपत्यकामा अर्को दुई सातामा आईसीयूका सबै शय्या भरिने चिकित्सकहरू बताउँछन् । डा. आचार्यले संक्रमण समुदायमा गए २ हजार आईसीयू शय्या र २ हजार भेन्टिलेटर भए पनि अपर्याप्त हुने बताए । ‘आईसीयूमा उपचार गर्न इटालीले त सकेन । सरकारको प्राथमिकतामा कहिले पनि आईसीयू परेन,’ उनले भने । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले आवश्यकताअनुसार क्रमिक रूपमा आईसीयू र भेन्टिलेटर थप्ने प्रक्रिया अघि बढेको दाबी गरे । उनले आईसीयू र भेन्टिलेटरमा राख्ने अवस्था नआओस् भनेर रोकथाममै बढी जोड दिँदै आएको बताए । ‘विश्वको शक्तिशाली र स्वास्थ्य सेवामा एक नम्बरमा रहेका मुलुकहरूसमेत सबै कोरोना बिरामीलाई आईसीयू र भेन्टिलेटर सेवा दिन नसक्ने अवस्थामा पुगेको हामीले देखिसकेका छौं,’ उनले भने ।

डा. अधिकारीले कोरोनाको विस्तार समुदायमा हुन नदिन हरेक नेपालीले अत्यावश्यक अवस्थामा मात्र घरबाहिर निस्कनुपर्ने र यसरी निस्कँदा मास्क लगाएर अन्य व्यक्तिसँग दुई मिटरको दूरी कायम राख्नुपर्ने र हातको सफाइमा ध्यान दिनुपर्ने बताए । ‘यी सामान्य उपायले कोरोनाको विस्तारलाई नियन्त्रण गरेर मुलुकमा भएकै स्वास्थ्य संरचनाले अत्यावश्यक बिरामीलाई सहज रूपमा सेवा दिन सकिन्छ,’ उनले भने ।

त्यसो त कोरोना संक्रमितका लागि जनरल बेड (साधारण शय्या) को समेत अभाव हुन थालेको छ । कोरोनाकै लागि स्वास्थ्य मन्त्रालयले तोकेका लेभल १, २ र ३ का अस्पताल र प्रदेशका क्लिनिकहरूमा गरी देशभरिमा जनरल बेडको संख्या ९ हजार ८ सय ५७ छ । लेभल १, २ र ३ का अस्पताल र प्रदेशका क्लिनिकहरूमा कोरोना उपचारका लागि भनेर ४ सय ९ वटा आईसीयू शय्या र १ सय ६० वटा भेन्टिलेटर छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस