चिनियाँ दूतावासले किन गर्यो सरकारी ल्याबको रिपोर्ट अस्वीकार

पत्रपत्रिकाबाट

विहीबार, २२ साउन २०७७, ०७ : ५२
चिनियाँ दूतावासले किन गर्यो सरकारी ल्याबको रिपोर्ट अस्वीकार

काठमाडौँ । चिनियाँ दूतावासले आफ्ना नागरिकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएर पेस गरेको पीसीआर रिपोर्ट अस्वीकार गरेको छ । नेपाली सेनाले चीनबाट खरिद गरेको बायो टेक सन सियोर कम्पनीको १ एमएलको भीटीएममा चिनियाँको स्वाब संकलन गरिएको थियो ।

स्वदेश फर्किन लागेका चिनियाँ नागरिकको पीसीआर गरिदिन भन्दै काठमाडौं महानगरपालिकाको वडा नं। २६ को कार्यालयले सिफारिस गरेपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले ५९ जनाको स्वाब संकलन गरेको थियो । ईडीसीडीका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको टोली स्वाब संकलन गर्न ठमेलको ज्याठास्थित एक होटलमा गएका थिए  ।

प्रयोगशालाले बुधबार दिएको रिपोर्ट दूतावासमा पेस गर्दा अस्वीकार भएको वडाध्यक्ष ख्यामराज तिवारीले बताए । ‘ठमेलका होटल व्यवसायीहरूले चिनियाँ नागरिकको पीसीआरका लागि सिफारिस गरिदिन भनेपछि मैले टेकुमा पत्र लेखिदिएको थिएँ । सबैको रिपोर्ट नेगेटिभ आएछ,’ उनले भने, ‘त्यही रिपोर्ट लिएर चिनियाँहरू दूतावास जाँदा अस्वीकार भयो । त्यसपछि स्टार अस्पतालले उनीहरूको स्वाब संकलन गरेको छ ।’

ईडीसीडीका मेडिकल टेक्नोलोजिस्ट पौडेल सरकारी प्रयोगशालाको रिपोर्ट दूतावासले अस्वीकार गरेपछि बुधबार बेलुका फेरि स्वाब लिएकै होटलमा पुगेका थिए । ‘तर त्यहाँ स्टार अस्पतालका कर्मचारीले ३ एमएलको भीटीएममा उनीहरूको स्वाब लिइरहेका थिए,’ उनले भने । चिनियाँ दूतावासले राष्ट्रिय प्रयोगशालाबाहेक वीर, टिचिङ, पाटन, केएमसी र स्टार अस्पताल जहाँ पीसीआर गराएर रिपोर्ट ल्याए पनि मान्ने भनेपछि होटल व्यवसायीले छिटो रिपोर्ट लिन स्टार अस्पतालको प्रयोगशालामा पीसीआर गराएको वडाध्यक्ष तिवारीले बताए । चिनियाँहरू शुक्रबार चीन फर्कने तयारीमा छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस