नेकपा विवाद

दाहाल–नेपाल समूहले भेलामार्फत ओलीलाई दिए रणनितिक सन्देश

पत्रपत्रिकाबाट

विहीबार, २२ साउन २०७७, ०७ : ४७
दाहाल–नेपाल समूहले भेलामार्फत ओलीलाई दिए रणनितिक सन्देश

काठमाडौँ । डेढ महिनादेखि जारी नेकपा विवाद फराकिलो बन्दै गएको छ । एकले अर्को पक्षमाथि पार्टी विभाजनको कोसिस गरेको आरोप लगाउँदै आएका नेताहरुले गुटगत भेला र छलफललाई बढावा दिएका छन् । मदन भण्डारी फाउन्डेशनका नाममा अध्यक्ष केपी शर्मा ओली समूहले काभ्रेमा कार्यक्रम गरेको केही दिनमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफू निकट पत्रकारहरुसँग आन्तरिक छलफल गरेका छन् ।

साउन १० मा मदन भण्डारी फाउन्डेशन काभ्रेले गरेको कार्यक्रममा करिब ७ सय नेता–कार्यकर्ता सहभागी कार्यक्रममा परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली प्रमुख अतिथिका रूपमा पुगेका थिए । काभ्रेको कार्यक्रमको १० दिनपछि बुधबार साउन २१ मा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल र सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले निकट पत्रकारसँग सामूहिक छलफल गरेका हुन् । पार्टी सचिवालय र खुमलटार भेलाभन्दा फराकिलो संवादमा ४ नेता जुटेको यो पहिलो पटक हो ।

नेकपा विवादमा आफ्नो पोजिसन र आगामी रणनीतिबारे बताउन एकैपटक ४ नेताले पत्रकारसँग संवाद गरेर पार्टीका अर्का अध्यक्ष ओली र उनको समूहलाई केही रणनीतिक सन्देश दिन खोजेको छ । यद्यपि नेताहरुले औपचारिक रुपमा भने यसलाई स्वीकारेका छैनन्, तर कार्यक्रममा उनीहरुले राखेको अभिव्यक्तिमा रणनीति चाहिँ प्रस्टै देखिएको छ । कार्यक्रममार्फत ४ नेताले ओली र उनको समूहमाथि दबाब बनाउने कोसिस पनि गरेका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने ओलीको अडानले नेकपामा दाहाल–नेपाल समूह अहिले दबाबमा छ । यसबाहेक ओलीले स्थायी कमिटी बैठकको निरन्तरता र केन्द्रीय कमिटी बैठक आव्हानलाई पनि अस्वीकार गरेका छन् । ओलीको यस्तो कदमले पार्टी संगठन विधि र पद्धतिमा चलाउन गाह्रो हुँदै गएको भन्दै दाहाल–नेपाल समूहले आफू निकट कार्यकर्तामाझ संवाद बढाएका हुन् ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको अवस्थामा नेकपाका दुवै समूहका आन्तरिक सक्रियताले तत्काल विवाद साम्य नहुने संकेत पनि दिएका छन् । यसबाहेक सरकार र पार्टीबीचको विवाद लगानी बोर्डको सीईओ नियुक्तिसम्म आउँदा नयाँ चरणमा पुगेको छ । विस्तृत खबर कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस