काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्वनिर्णयबाट आफूहरू पछि हटेको बताउनुभयो । अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उहाँको भनाइ छ । विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो ।
विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ । डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिएका छन् । अब स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून हुँदै गएको छ । सङ्क्रमण बढेको अवस्थामा परीक्षाबारे निर्णय लिन नसकिने र यो अवस्थामा परीक्षा सञ्चालन गरिने कार्यतालिका धकेलिने उहाँको भनाइ छ ।
परीक्षा सञ्चालनको तयारी गरिए पनि विद्यार्थीसँग सम्पर्क हुन नसकेको र सहज रूपमा सार्वजनिक यातायात सञ्चालन हुन सक्ने परिस्थिति नभएसम्म परीक्षा लिन नसक्ने उहाँको भनाइ छ । विश्वविद्यालयको परीक्षा देशभर एकै पटक लिनुपर्ने भएकाले पनि सङ्क्रमणको अवस्था सामान्य अवस्थामा आउनैपर्ने उहाँको भनाइ छ ।
अब परीक्षाका विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग समेत छलफल गरी सम्भावित परिस्थिति आकलन गरिने जानकारी उहाँले दिनुभयो । त्यसपछि मात्रै के गर्ने भन्ने विषयमा निर्णय गर्न सकिने उहाँको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २० साउन २०७७, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला
त्रिवि सभा सदस्य मनोनयन प्रक्रियामा स्ववियुकाे आपत्ति
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ