टेलिकमले मुद्दा हार्‍यो, रिचार्ज सेवा अवरुद्ध हुँदा १५ हजार क्षतिपूर्ति

पत्रपत्रिकाबाट

आइतबार, १८ साउन २०७७, ०८ : ०८
टेलिकमले मुद्दा हार्‍यो, रिचार्ज सेवा अवरुद्ध हुँदा १५ हजार क्षतिपूर्ति

काठमडौं ।भक्तपुरका राजकुमार सुवाल नेपाल टेलिकमको पोस्टपेड मोबाइल सेवाका ग्राहक हुन् । ०७५ भदौ २९ गते शुक्रबार साँझ ६ः४१ मा उनको मोबाइलमा टेलिकमबाट एउटा सन्देश आयो । जसमा लेखिएको थियो, ‘तपाईंको तिर्नुपर्ने ब्यालेन्स ४ हजार ५ सय ७३ रुपैयाँ छ र तपाईंले उपयोग गर्न पाउने ब्यालेन्स ४ सय २६ रुपैयाँ छ । सेवा बन्द हुन नदिन चाँडै बिल तिर्नुहोस् ।’

मोबाइल ब्यालेन्स अझै छ भनेर ढुक्क भएर बसेका उनलाई भोलिपल्ट शनिबार बेलुका ७ बजेतिर अर्को सन्देश आयो । जसमा लेखिएको थियो, ‘तपाईंको मोबाइलबाट फोन जान बन्द गरिएको छ ।’ यस्ता म्यासेज देखेपछि उनले तत्कालै ५ सयका दुइटा रिचार्ज कार्ड किनेर मोबाइलमा ब्यालेन्स भरे । रिचार्ज गरेपछि राति साढे ९ बजेतिर उनलाई अर्को म्यासेज आयो । जसमा लेखिएको थियो, ‘तपाईंले तिर्नुपर्ने रकम ३ हजार ८ सय ४० रुपैयाँ छ भने उपभोग गर्न मिल्ने ब्यालेन्स अझै १ हजार १ सय ६० रुपैयाँ छ ।’

ब्यालेन्स सकिएका कारण आएको फोन मात्रै उठाउन मिल्ने तर फोन गर्न नमिल्ने अवस्थामा पुगेको मोबाइल खुल्ने प्रतीक्षामा उनले रात कटाए । तर मोबाइलको सेवा भोलिपल्ट बिहान ११ः४५ तिर मात्रै पुनः सुरु भयो ।सुवाल त्यो बेलामा रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष थिए । क्लबले सिन्धुपाल्चोकमा भोलिपल्ट एउटा कार्यक्रम राखेको थियो, जसको तयारीका लागि सुवाललाई फोन अत्यावश्यक थियो । ‘रातभर फोन बन्द भएपछि मैले कार्यक्रमको तयारी गर्न पाइनँ, साह्रै मानसिक तनाव भयो,’ पेसाले अधिवक्ता रहेका सुवाल भन्छन्, ‘साह्रै तनाव भएपछि टेलिकमलाई मुद्दा हाल्ने निष्कर्षमा पुगें ।’

शनिबार रातिदेखि बन्द भएको मोबाइल आइतबार बिहान पौने १२ बजे मात्रै खुलेपछि सोही दिन उनले काठमाडौं जिल्ला अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरे । ०७५ भदौ ३१ मा उनले अदालतमा दायर गरेको मुद्दाको फैसला सुनाउँदै काठमाडौं जिल्ला अदालतले क्षतिपूर्ति दिनु नपर्ने फैसला गर्‍यो । न्यायाधीश मोहनराज भट्टराईको इजलासले ०७६ वैशाख ४ गते सुवालको विपक्षमा फैसला सुनाएपछि उनले पाटन उच्च अदालतमा पुनरावेदन गरे ।

गत वर्षको साउन १७ गते उच्च अदालत पाटनमा सुवालले पुनः मुद्दा दायर गरेका थिए । उनको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय ठाकुरप्रसाद शर्मा पौडेल र नातिबाबु लामिछानेको इजलासले काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै १५ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको हो । उच्च अदालतले गते फागुन २० गते १५ हजार क्षतिपूर्ति निर्धारण गरेको हो ।

‘समयमा सेवा उपलब्ध नगराएबापत पुग्न गएको क्षतिस्वरूप नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई मनासिक माफीको १५ हजार क्षतिपूर्ति भराई लिन पाउने ठहर्छ,’ अदालतको फैसलामा भनिएको छ । जेठ २८ मा फैसला प्रमाणीकरण भएपछि सुवालले उच्च अदालतको फैसला कार्यान्वयन शाखामा क्षतिपूर्तिका लागि निवेदन दिएका छन् ।
‘क्षतिपूर्ति उपलब्ध गराउन शुक्रबार निवेदन दिएको छु,’ उनले भने, ‘अबको केही समयमै क्षतिपूर्ति लिन्छु होला ।’ आफूले जितेको मुद्दा अन्य उपभोक्ताका लागि पनि उदाहरण बनेकोमा सुवालले खुसी व्यक्त गरे । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस