चिनीमा ठूलो झेल, १५ दिनमै साढे २६ करोड भन्सार छली

पत्रपत्रिकाबाट

आइतबार, १८ साउन २०७७, ०७ : ०८
चिनीमा ठूलो झेल, १५ दिनमै साढे २६ करोड भन्सार छली

काठमाडौं । भन्सार कर्मचारीको मिलेमतोमा व्यापारीले साढे २६ करोड रुपैयाँभन्दा बढी भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको छ । व्यापारीले गत असार मसान्तदेखि १४ साउनसम्म २६ करोड ६३ लाख २० हजार रुपैयाँ भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको हो । त्यस क्रममा व्यापारीहरूले १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेका छन् ।

स्रोतका अनुसार गत असार मसान्तदेखि १४ साउनसम्म व्यापारीले भारतको उत्तर प्रदेशबाट १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याएका थिए, जसमध्ये ४८ हजार मेट्रिक टनको मात्रै भन्सार महसुल तिरेको पाइएको छ । बाँकी १ लाख २ हजार मेट्रिक टन चिनीको भन्सार तिरेको देखिएको छैन ।

यसरी १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेको पाइएपछि राष्ट्रिय उपभोक्ता मञ्चले छानबिन तथा कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएको छ ।

मञ्चले दिएको उजुरीमा १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याउँदा ४८ हजार मेट्रिक टनको मात्र भन्सार महसुल तिरेको पाइएकोे छ । व्यापारीले भन्सारका कर्मचारीसँगको मिलेमतोमा करोडौंको भन्सार छली गरेको उपभोक्ता मञ्चको दाबी छ । राजधानी दैनिकमा खबर छ ।