प्रदेश २ मा यसरी फैलियो कोरोना...

पत्रपत्रिकाबाट

शनिबार, १७ साउन २०७७, ०८ : ०७
प्रदेश २ मा यसरी फैलियो कोरोना...

वीरगन्ज । प्रदेश २ का तीन ठूला सहर जनकपुर, वीरगन्ज र राजविराजमा कोरोना फैलिएपछि कहाँ कमजोरी भयो भन्ने पहिल्याउन प्रदेश सरकारले गत बोलाएको बैठकमा आरोप–प्रत्यारोप चल्यो । मुख्यमन्त्री लालबाबु राउतले सशस्त्र प्रहरीका डीआईजी कृष्णभक्त ब्रह्मचार्यलाई ‘पैसा लिएर नाकामा मानिस छिराएको’ आरोप लगाए । उनले भन्दै सीमामा कडाइ गर्न निर्देशन दिए । लगत्तै डीआईजी ब्रह्मचार्यले पर्सा र सप्तरीका बीओपी प्रमुखलाई बोलाएर थप कडाइ गर्न निर्देशन दिए ।

संघीय सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै प्रदेश २ का नाकालाई पनि खुकुलो पारियो । कोरोना फैलिनुमा प्रदेश सरकारले यसैलाई प्रमुख कारण मानेको छ । लकडाउन अन्त्यपछि अपनाउनुपर्ने सावधानीमा नागरिक लापरवाह देखिए । कोरोना संक्रमणले मृत्यु भएका राजविराजका व्यापारी लकडाउनमै परिवारका सदस्यलाई लिएर भारतको राजधानी नयाँदिल्ली पुगे । पछि बिनारोकटोक राजविराज फर्किए । स्वास्थ्यमा समस्या देखिएपछि मात्रै उनी अस्पताल पुगेका थिए ।

नाकाको निगरानीमा लापरबाही, बजार र होटल खोल्दा स्वास्थ्य सजगताको ख्याल नगर्नु र सरकारी अस्पताललाई उपकरणयुक्त नबनाउनुलगायतका संक्रमण बढाउने कारक भए । ‘कोरोना रोकथामका लागि सुरक्षा मापदण्ड अपनाउनै छोडिदिए, यसमा सरकार र जनता सबै दोषी छन्,’ जनकपुरका वरिष्ठ चिकित्सक डा. विजय सिंहले भने, ‘संक्रमितको संख्या नबढोस् भनेर लकडाउन गरिन्छ । त्यही बीचमा स्वास्थ्य संस्थाको क्षमतामा विस्तार गर्नुपर्छ तर लकडाउनमा आधारभूत काम पनि सरकारले गर्न सकेन । परिणामस्वरूप अहिले संक्रमण बढ्यो । अस्पताललाई पैसा मात्र दिएर हुन्न । परीक्षण र उपकरण बढाउने र सचेतनामा पनि ध्यान दिनुपर्छ ।’

करिब ४ महिना लामो लकडाउन अन्त्यको घोषणा गरेको तीन दिन नबित्दै स्थानीय प्रशासनले वीरगन्ज महानगर क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्‍यो । विस्तारै जीवन सहज बन्दै गएको अवस्थामा बढ्दो संक्रमणले एकपटक फेरि जनजीवन त्रासमय बनेको छ । विगतमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरूमा देखिँदै आएको संक्रमण पछिल्लो समय स्वेच्छाले परीक्षण गराएका र कुनै ‘ट्राभल हिस्ट्री’ पनि नभएका विभिन्न पेसा–व्यवसायका व्यक्तिमा संक्रमण देखिन थालेपछि वीरगन्जमा त्रास छ । साउनयता सेना, प्रहरी, उद्योगका सीईओ, चिकित्सक, स्वास्थ्यकर्मी, व्यवसायी, कैदीबन्दीसहित २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । १० जनाको मृत्यु भएको छ ।

साउनबाट पर्सा जिल्ला कोरोनामुक्त हुनेमा सरकारी अधिकारीहरू विश्वस्त थिए । गत असार ३१ मा वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा पर्साका दुई जना संक्रमित मात्रै भर्ना थिए । जिल्लाको विभिन्न पालिकामा रहेका क्वारेन्टाइन पनि खाली हुने क्रममा थियो । पछिल्ला १६ दिनमा पर्सामा २ सय ४६ जना संक्रमित थपिएका छन् । कोरोना अस्पतालमा बेड अभाव भएपछि संक्रमितलाई होम आइसोलेसनमा राख्न थालिएको छ ।

गत चैतदेखि नै संक्रमितको उपचारमा संलग्न नारायणी अस्पतालका डा. नीरजकुमार सिंहका अनुसार वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा लुकीछिपी आएका भारतीय मजदुरबाट वीरगन्जमा कोरोना संक्रमण फैलिएको हो । ‘साउनयता संक्रमण पुष्टि भएका व्यक्ति अधिकांश उद्योग तथा व्यापारिक प्रतिष्ठानसँग जोडिएका अथवा सम्पर्कमा आएकाहरू छन्,’ कान्तिपुरसँग डा. सिंहले भने, ‘कन्ट्याक्ट ट्रेसिङमा पनि उनीहरूकै सम्पर्कमा आएका व्यक्तिमा पोजिटिभ पाइएको छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस