सबै बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न नेतन्याहूको निर्देशन

एजेन्सी

शुक्रबार, ०६ भदौ २०८२, ०९ : ०९
सबै बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न नेतन्याहूको निर्देशन

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा रहेका सबै बाँकी बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न निर्देशन दिएका छन् । 

उनले बिहीबार राति इजरायली सेनासँगको भेटमा आफ्नो मन्त्रिपरिषद्ले गाजा सिटी नियन्त्रणमा लिन र हमासलाई परास्त गर्ने योजनालाई समेत स्वीकृति दिएको जानकारी दिएका हुन् ।

कतार र इजिप्टको मध्यस्थतामा तयार गरिएको प्रस्तावअनुसार हामासले सोमबार ६० दिनको युद्धविराम मान्ने र बाँकी बन्धकमध्ये आधालाई छोड्ने सहमति जनाएको थियो । तर नेतन्याहूले हालको प्रस्ताव अस्वीकार गरेका छन् ।

इजरायली सञ्चारमाध्यमले एक अधिकारीलाई उद्धृत गर्दै वार्ताको स्थान टुङ्गिएपछि वार्ता टोली पठाइने जनाएका छन् । नेतन्याहूले गाजा डिभिजन मुख्यालयमा सैनिकहरूसँगको भेटमा ‘मैले सबै बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न निर्देशन दिएको छु’ भन्दै, ’गाजा सिटी नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न आईडीएफ (इजरायल डिफेन्स फोर्सेस) को योजनालाई स्वीकृति दिन आएको हुँ’ बताए ।

उनले ‘हमासलाई परास्त गर्ने र सबै बन्धकलाई मुक्त गर्ने – यी दुवै कुरा हातेमालो गर्दै अघि बढ्ने छन्’ भन्दै आगामी वार्ताको चरणबारे प्रस्ट विवरण भने दिएनन्।

यसअघि नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायल केवल सबै बन्धकलाई एउटै पटकमा मुक्त गरिए मात्र सहमत हुने र युद्ध अन्त्यका लागि हमासलाई निःशस्त्र बनाउनु, गाजालाई असैनिकीकरण गर्नु, गाजाको सीमा नियन्त्रण इजरायलको हातमा रहनु तथा गैर–हमास र गैर–प्यालेस्टिनी अथोरिटी शासन स्थापना हुनु पर्ने सर्तहरू रहने स्पष्ट पारेको थियो ।

२२ महिनादेखि जारी युद्धपछि इजरायलले ५० बन्धकमध्ये केवल २० जना मात्र जीवित रहेको विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस