कोरोना संक्रमण बढेसँगै वीरगन्ज र राजविराजमा निषेधाज्ञा, बाँकेमा आइतबारदेखि

शुक्रबार, १६ साउन २०७७, ०७ : ५७
कोरोना संक्रमण बढेसँगै वीरगन्ज र राजविराजमा निषेधाज्ञा, बाँकेमा आइतबारदेखि

काठमाडौँ । देशव्यापी लकडाउन हटाइए पनि लुकीछिपी आउजाउ गर्नेबाट संक्रमण फैलिनाले सीमावर्ती सहरमा प्रशासनले लकडाउन र निषेधाज्ञा गर्न थालेका छन् । वीरगन्जमा गत शनिबारदेखि निषेधाज्ञा छ भने राजविराजमा लकडाउनसँगै निषेधाज्ञा लगाइएको एक साताभन्दा बढी भइसकेको छ ।

बाँकेमा आइतबारदेखि निषेधाज्ञा हुने घोषणा गरिएको छ । मोरङको सुनवर्षी–८ मा संक्रमितको मृत्यु भएपछि बिहीबारदेखि वडा सिल गरिएको छ । टाढा कतै आउजाउ नभएका व्यक्तिमा संक्रमण देखिएपछि वीरगन्जमा त्रास फैलिएको छ । त्रासले विगतमा जस्तो निषेधाज्ञा अवहेलना भएको छैन । यहाँ साउनमा मात्रै सेना, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, व्यवसायी, कैदीबन्दीलगायत गरी २०३ संक्रमित थपिएका छन् ।

पछिल्लो समय लक्षणसहितका संक्रमित भेटिने क्रम बढेको छ । अस्पताल भर्ना भएका र उपचारमा संलग्न चिकित्सकमा संक्रमण देखिएपछि नारायणी अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । बिरामीमा संक्रमण पुष्टि भएपछि एडभान्स मेडिकेयर, अली अर्थो एन्ड ट्रमा, वीरगन्ज हेल्थ केयर हस्पिटलका सेवा पटकपटक अवरोध भएका छन् ।

सरकारले पैसा तिरेर पीसीआर परीक्षण गराउन सक्ने नियम ल्याएपछि पर्सामा संक्रमितको संख्या बढी देखिएको हो । वीरगन्ज महानगरपालिकाभित्र समूहगत परीक्षण भइरहेको छ । पर्साका प्रमुख राजनीतिक दलले जिल्लामा कोरोना संक्रमण फैलिँदै गएकामा चिन्ता व्यक्त गर्दै बिहीबार संघीय सरकारसँग विज्ञसहितको चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली माग गरेका छन् । नेकपा, कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजका अगुवाहरूले बैठक गरेर संक्रमण रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण व्यवस्थापन गरिदिन संघीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको हो ।

ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्राध्यापक वीरेन्द्रप्रसाद साहले सरकारी पक्षको अकर्मण्यताका कारण जनता फेरि निषेधाज्ञामा बस्नुपरेको बताए । ‘करिब ४ महिनापछि जनजीवन सहज बन्दै गएको थियो,’ उनले भने, ‘तर स्थानीय प्रशासन र सरकारको कमजोरीले कोरोना फैलियो ।’ स्वास्थ्य सतर्कता अपनाएर जनजीवन सहज बनाउन स्थानीय सरकारले जोड दिनुपर्ने उनको बुझाइ छ । ‘अलिकति सहज भयो कि प्रशासन सुत्ने र नागरिक पनि सचेत नहुने गरेको देखिन्छ,’ उनले भने । साहले सीमाबाट आउनेजाने क्रम नरोकिएको बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस